बिहिबार, मंसिर २६, २०८२
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित

बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित

  • बिहिबार, मंसिर २६, २०८२
बडीमालिका–८ छाउपडी गोठमुक्त वडा घोषित

बाजुरा—बाजुराको सदरमुकाम मार्तडी स्थित बडीमालिका नगरपालिका ८ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । बुधवार एक औपचारिक कार्यक्रमका विच उक्त वडालाई ७ औं छाउपडी गोठमुक्त वडाका रुपमा घोषणा गरिएको हो ।

बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा कुमारी थापाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापनसँगै वडा नम्बर ८ लाई पनि छाउपडी गोठमुक्त वडा घोषणा गरिएको बताइन् । उनले भनिन् “पटकपटक गरी चार पटक वडाभर अनुगमनपछि हामीले छाउगोठ मुक्त वडा घोषणा गर्‍यौ, एक–दुई वटा अहिले पनि छन् तर त्याँहा छाउपडी बसेको देखेनौं, तसर्थ अहिले वडामा ९० प्रतिशत छाउगोठ छैनन् ।” त्यस्तै नगर उपप्रमुख थापाले नियमित अनुगमन र सुझाव सल्लाह र जनचेतनापछि यो सँगै ७ वटा वडा छाउगोठ मुक्त वडा घोषणा भएको भन्दै अब वडा नम्बर १ र ७ बाँकी रहेको बताइन् । ति वडामा पनि अहिले अनुगमन गर्दा खासै छाउगोठ नभेटिएको भन्दै दुवै वडालाई यसै बर्षभित्र घोषणा गर्ने र आगामी आर्थिक बर्षमा नगरपालिकालाई नै छाउगोठ मुक्त नगर घोषणा गर्ने गरी तयारी थालिएको उनले बताइन् ।

महिनावारी भएका बेला छाउपडी महिलाहरुका लागि घरभन्दा टाढा अलग्गै राख्ने गरी बनाईएका छाउगोठहरु वडा, टोल र समुदायबाट सधैका लागि अन्त्य गर्न नगरपालिकाले छाउगोठ मुक्त घोषणा अभियान सञ्चालन गरिरहेको छ ।

बडीमालिका नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा संचालन भएको कार्यक्रममा वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष करे रावलको अध्यक्षतमा नगर उपप्रमुख नन्दा कुमारी थापा प्रमुख अतिथी लगायत अन्य अतिथिहरु सहभागी थिए ।

चर्चामा

सम्बन्धित समाचार