
बाजुरा — नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य प्रकाश शाहले देशको राष्ट्रियता, स्वतन्त्रता र सार्वभौमिकतामाथि बढ्दै गएको संकट रोक्नै मुख्य उद्देश्यका साथ पार्टी निर्माण गरिएको बताएका छन्। आइतबार बाजुराको सदरमुकामको स्वामीकार्तिप प्लाजामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहले वर्तमान परिस्थितिमा जेनजी आन्दोलनको प्रभाव, राजनीतिक अस्थिरता र वैचारिक दिशाहीनता बढेको अवस्थामा वैकल्पिक वाम शक्ति निर्माण अपरिहार्य भएको बताए ।
शाहका अनुसार नेपाली कम्युनिष्ट पार्टी जनयुद्धमार्फत परिवर्तनको मार्गदर्शन गरेका पुष्पकम दाहाल प्रचण्ड र शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियाबाट रुपान्तरणमा विश्वास गरेका माधव कुमार नेपाल लगायतका नेताहरूको नेतृत्व एकै ठाउँमा उभिएको ऐतिहासिक क्षण भएको बताए । जनयुद्धको धार र शान्तिपूर्ण लोकतान्त्रिक धारा एउटै वैचारिक मार्गमा संगठित भएर अघि बढ्नु ठूलो उपलब्धि भएको बताए ।
हाल देशमा विभिन्न शक्ति केन्द्रबाट भइरहेका चलखेल, राष्ट्रिय अस्मिता र स्वतन्त्रता कमजोर पार्ने प्रयास र जनताले निर्माण गरेको लोकतान्त्रिक व्यवस्थामाथिको चुनौतीले नै नयाँ कम्युनिष्ट एकताको आवश्यकता महसुस भएर नया शक्ति निमार्ण भएको बताए । नेपालको संविधान, व्यवस्था, जनताको आकांक्षा र राष्ट्रको आवश्यकता अनुसार सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता रहेको उनको भनाइ थियो ।
कम्युनिष्ट पार्टीहरू प्रायः भूगोल वा वर्गीय संरचनाबाट नामकरण गर्दै आएको इतिहासलाई उदाहरण दिँदै शाहले यो पटक जनता नै परिवर्तनको मूल शक्ती भएकाले ‘नेपाली जनताका नाममा पार्टीको नामकरण गरिएको बताए ।
बाजुरा जिल्लकोमा गरिने एकता सभाको जानकारीका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा बाजुराली जनताको चाहना एकै दिशामा उभिएको भन्दै आगामी मंसिर २९ गते हुने एकता सभाका लागि दश ओटा उप–समिति गठन गरिएको जानकारी दिए । सदरमुकाम मार्तडीमा मंसिर २९ गतेको एकता सन्देश सभाको तयारीका लागि मंसिर २२ गते पूर्वी उत्तरी क्षेत्रको पिलुचौर, मंसिर २४ गते दक्षिण क्षेत्रको टाँटेमा र मंसिर २५ गते सदरमुकाम मार्तडीमा बैडक आयोजना गरि तयारी थालिएको बताएका छन् । एकता सन्देश सभामा ब्यापक जनसहभागीका हुने र बाजुरा जिल्लाका थुप्रै नेता कार्यकर्ता समाहिन हुने समेत बताएका छन् । सम्मेलन प्रचार–प्रसार उप–समिति संयोजक अनिल शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेता कर्णबहादुर बि.क., मनलाल खत्री, कमल कुमारी शाह, पुर रावत, देवीचन्द्र बुढा, महेश शाही, दानबहादुर खड्का सहितका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।
