
बाजुरा–जिल्लाको पर्यटकीय क्षेत्र रानीशैन हिमालमा प्रहरी चौकी स्थापना गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ । जिल्लाको हिमाली गाउँपालिकामा पर्ने रानीशनैमा चोरी सिकारी तथा तस्करको अखडा बन्दै गएकोले सो ठाउँमा प्रहरी चौकी स्थापनाका लागि ज्ञापन पत्र बुझाईएको हो ।
बाजुरा हिमाली गाउँपालिकाका स्थानीय तथा अनेरास्ववियूका नेता धर्मराज तिमिल्सेनाले गृहमन्त्रालयमै पुगेर ज्ञापन पत्र बुझाएका हुन । तिमिल्सेनाले बुझाएको ज्ञापन पत्रमा भनिएको छ, हिमाली गाउँपालिका–३ स्थित रानीसैन क्षेत्र गम्भीर सुरक्षा चुनौतीको अवस्थाबाट गुज्रिरहेको छ । भौगोलिक रूपमा अत्यन्त दुर्गम र पहुँच कम भएको यस क्षेत्रमा प्रहरी संरचना तथा सुरक्षात्मक उपस्थिति नरहेको कारण स्थानीय जनजीवन, सार्वजनिक शान्ति–सुरक्षा, सामाजिक स्थायित्व तथा विकास–निर्माणका कार्यहरू प्रत्यक्ष प्रभावित हुँदै आएका छन् ।
रानीसैन क्षेत्र बहुमूल्य हिमाली तथा उच्च औषधीय महत्वका जडीबुटीहरूको प्रमुख स्रोत रहेको ठाउँ हो । तर पछिल्लो समय उक्त क्षेत्रमा, जथाभावी दोहन, अवैध संकलन, तस्करी समूहहरूको चहलपहल, वन तथा जैविक स्रोत विनाश, प्रशासन तथा सुरक्षाको न्यून उपस्थिति जस्ता समस्याहरू तीव्र भइरहेको स्थानीय तह, सामुदायिक वन तथा सरोकारवालाहरूको गम्भीर चिन्ताको विषय बनेको छ । यसले राष्ट्रिय सम्पदा नै जोखिममा परेको, राजस्व क्षति, वातावरणीय दिगोपनमा नकारात्मक प्रभाव र स्थानीय अर्थतन्त्र कमजोर हुने अवस्थासमेत सिर्जना भएकोले सो ठाउँमा प्रहरी चौकी राख्न माग गरिएको छ ।
