
काठमाडौं —नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले एघारौं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै अहिलेको अवस्थामा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्नु उपयुक्त नभएको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीले ओलीलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेको बताए ।
‘हुनत अहिले विभिन्न कमरेडहरूले सार्वजनिक रुपमा विभिन्न उम्मेदवारीहरू घोषणा गरिरहनुभएको छ । केन्द्रीय समितिको निर्णयको कोणबाट हेर्दा यो ढंग जानु एमाले नेताहरूका लागि उपयुक्त होइन,’ बादलले भने, ‘यसले पार्टीलाई एकताबद्ध गर्दैन । यसले अझ विघटन र विर्सजनतिर लैजान्छ । अहिलेको सन्दर्भमा प्रतिस्पर्धाको नामबाट यो ढंगले जान हामी उपयुक्त हुँदैन ।’
मुलुकमा राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न पनि ओली नेतृत्वको विकल्प नभएको निष्कर्षमा पार्टी केन्द्रिय समिति पुगेको दाबी समेत गरे ।
ओलीका नीति, विचार र उनले हाँसिल गरेको उपलब्धीले पनि उनलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक देखिएको उपाध्यक्ष थापाको जिकिर थियो ।
उपाध्यक्ष थापाले आम जनता, पार्टी कार्यकर्ता र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि एमालेले उनलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक रहेको बताए ।
‘अहिलेको विशिष्ट स्थितिमा ठोस स्थितिमा लोकतन्त्रको स्थापनाको निम्ति उहाँको झन बढी आवश्यकता छ । देशको राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति झन उहाँको बढी आवश्यकता छ । त्यो हिसाबकिताब्ले वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने निष्कर्षमा केन्द्रीय समिति पुगेको हो,’ थापाले भने ।
ओलीको नेतृत्वमा मात्रै नेकपा एमाले अगाडि बढ्नसक्ने उनको भनाइ छ ।
‘पार्टीलाई एकतावद्ध गर्नको निम्ति पनि अहिलेको नेतृत्वलाई निरन्तरता दिनुपर्छ भन्ने यो हो । त्यसकारण यो महाधिवेशनको बारेमा पार्टी केन्द्रिय समितिको पनि यही निष्कर्ष हो,’ थापाले भने ।
