
बाजुरा– बाजुरा जिल्लामा भरखरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्ला प्रहरी कार्यालय बाजुराको विभिन्न शाखा तथा संरचनाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले कार्यालयका शाखाहरु, प्रहरी ब्यारेक, भान्सा, थुनुवा कक्ष लगायतका महत्वपूर्ण स्थानहरूको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सुधारका लागि समेत निर्देशन दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी निरौलाले जिल्ला प्रहरी कार्यालयका समग्र सुरक्षा गतिविधि, कर्मचारी व्यवस्थापन, जनसेवामा देखिएका चुनौती, अनुसन्धानको अवस्था, जनसहभागिता लगायतका विषयमा सम्बन्धित शाखा प्रमुखबाट जानकारी समेत लिएका छन् । निरीक्षण पछि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारी लगाएत अन्य प्रहरी अधिकारी र जवानलाई सेवा प्रवाह प्रभावकारी बनाउन सक्रिय, संवेदनशील र उत्तरदायी हुन निर्देशन दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी निरौलाले प्रहरी प्रशासनमा पारदर्शिता, अनुशासन र समयमै सेवा प्रवाह हुन आवश्यकता हो । जिल्लाको कानून व्यवस्था मजबुत बनाउन प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण छ । जनतासँगको समन्वय, सूचना संकलन, समयमै कारबाही र पीडितमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनु लाग्नु पर्ने बताए । अपराध नियन्त्रण,सडक सुरक्षा, महिला तथा बालबालिका सम्बन्धी घटनामा बिशेष ध्यान दिन समेत निर्देशन दिएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जिल्ला प्रहरी कार्यालय र मातहतमा रहेका प्रहरी कार्यालयबाट सम्पदादिन कामहरु जानकारी गराएका थिए । प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक इवकाल हवारीले हाल संचालन गरिरहेको विभिन्न कार्य, सुशासनमा केन्द्रित गतिविधि तथा चुनौतीबारे जानकारी गराउँदै सहकार्य र संयोजनमा काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
