शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • बाजुराबाट ९ हजार ५३५ संगठित सदस्यले एमाले महाधिवेशनका प्रतिनिधि छान्दै

बाजुराबाट ९ हजार ५३५ संगठित सदस्यले एमाले महाधिवेशनका प्रतिनिधि छान्दै

  • मङ्लबार, मंसिर १०, २०८२
बाजुराबाट ९ हजार ५३५ संगठित सदस्यले एमाले महाधिवेशनका प्रतिनिधि छान्दै

बाजुरा— नेकपा एमालेको ११औँ महाधिवेशनका लागि बाजुराबाट प्रतिनिधि छनोट प्रक्रियाका लागि औपचारिक रूपमा छलफल सुरु गरिएकाे छ । जिल्लामा रहेका ९ हजार ५ सय ३५ संगठित पार्टी सदस्यले महाधिवेशन प्रतिनिधि छान्ने भएका छन्। आगामी मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि प्रतिनिधि चयनमा एमालेले यस पटक स्पष्ट मापदण्ड लागू गरेको छ। पार्टीले बनाएको नियमअनुसार, सदस्य संख्या अनुसार क्लस्टर छुट्याइकाे र सोही आधारमा जिल्लाबाट जाने प्रतिनिधिको संख्या निर्धारण गरिएको छ । क्लस्टर अनुसार चयन गरिएको प्रतिनिधिले महाधिवेशनमा मताधिकार प्रयोग गर्न पाउने अधिकार रहेको छ । साेही बमाेजिम प्रतिनधि छनाैटका लागि बाजुराबाट ९ हजार ५ सय ३५ जना संगठित सदस्यहरुले मताधिकारकाे अधिकार पाउने भएका छन ।

सोही प्रक्रियाका लागि बाजुरामा १३ गते जिल्लाभरका सबै मतदाताहरु सदरमुकाममा आएर प्रतिनिधी छनौटमा सहभागी हुने नेकपा एमाले जिल्ला कमिटि बाजुराका सचिव काशी विकले बताएका छन । एमालेले आफ्ना सदस्यलाई पारदर्शी र एकीकृत प्रणालीमार्फत प्रतिनिधि छनोटमा सहभागी गराउन यो प्रक्रिया अपनाएको एमाले बाजुराका सचिव विकले बताए । एमालेको १० औं महाधिवेशन २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो । चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा उद्घाटन भएको महाधिवेशनको बन्द सत्र सौराहा भएको थियो।
मौजुदा केन्द्रीय कमिटीको कार्यकाल पाँच वर्षका लागि भए पनि एमालेले एक वर्ष अगावै महाधिवेशन गर्न लागेको हो । आफ्नो ११औँ महाधिवेशनका लागि प्रतिनिधि कसरी चुनिन्छन् भन्ने विषयमा नेकपा एमालेले मापदण्ड बनाएको छ। देशभरबाट आगामी २७–२९ मंसिरमा काठमाडौँमा हुने एमाले महाधिवेशनमा २ हजार १ सय २७ प्रतिनिधि सहभागी हुँदै छन्। एमाले केन्द्रीय कार्यालयका अनुसार महाधिवेशन प्रतिनिधि चुन्ने विषयमा पार्टीले मातहतका कमिटीलाई अन्तर पार्टी निर्देशन (अपानि) पठाएको छ। जसमा पार्टी सदस्यताको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएकाे जनाएको छ ।

महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्लस्टर भनेको भूगोल हो। जसलाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ । यसरी १६५ संघीय निर्वाचन क्षेत्रबाट समावेशिताको सिद्धान्तअनुसार १ हजार १३५ जना प्रतिनिधि सहभागी हुनेछन्। जसमा हरेक निर्वाचन क्षेत्रमा रहेका १ हजार २०० पार्टी सदस्य बराबर ४० वर्षमुनिका एकजना युवा र एक जना महिलासहित ४ जनाले प्रतिनिधित्व गर्नेछन् । संघीय निर्वाचन क्षेत्रबाट हुने प्रतिनिधित्वबारे थप स्पष्ट पार्दै एमालेको अपानिमा भनिएको छ, ‘न्यूनतमा १२०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक ८/८ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुने र सोभन्दा बढी भएमा पहिलो ८०० मा महिला र त्यसपछि खुला निर्वाचित प्रतिनिधि हुने जनाएको छ ।’

अपानि अनुसार स्वदेशका विशेष जिल्ला अन्तर्गत १२०० जनासम्म पार्टी सदस्य बराबर कम्तीमा एक महिला सहित तीनजना निर्वाचित प्रतिनिधि रहनेछन् (सदस्य संख्या ८०० नाघेमा प्रत्येक ८०० मा थप एक, यस्तो संख्यामा कम्तीमा एक तिहाइ महिला सुनिश्चित गर्ने । यसरी विशेष जिल्लाअन्तर्गत निर्वाचित प्रतिनिधि संख्या करिब ४७ जना रहनेछन्। एमालेको महाधिवेशनमा दलित आरक्षण अन्तर्गतका प्रनिनिधि कम्तीमा ८१ जना रहनेछन्। दलितको हकमा हरेक निर्वाचन क्षेत्रमा ५०० पार्टी सदस्य बराबर एकजना प्रतिनिधि र त्यसभन्दा माथि सदस्य भएमा दुई जना र तीनजना प्रतिनिधि निर्वाचित हुने भएमा कम्तीमा एकजना महिला प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको छ।

श्रमिकको क्लस्टरबाट महाधिवेशनमा ४९ जना प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ। जसअनुसार हरेक भूगोलका सातवटा प्रदेशमा कार्यरत श्रमिक पार्टी सदस्यबाट कम्तीमा तीनजना महिला सहित ७ जनाका दरले प्रतिनिधि चुनिनेछन्। प्रवासमा रहेका कमिटीहरूबाट ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। जसमा भारत प्रवास विशेष कमिटीबाट कम्तीमा तीनजना महिलासहित १० जना,अमेरिका/क्यानडा, युरोप, एसिया प्यासिफिक, खाडी र ओसिनियाबाट प्रत्येक क्षेत्रमा दुई महिलासहित पाँच जनाका दरले ३५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमालेको अपानिमा उल्लेख छ।

केन्द्रीय विभागमा रहेका पार्टी सदस्यमध्येबाट एक/एक जनाका दरले ३२ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। यस्तै केन्द्रीय कार्यालयमा कार्यरत पार्टी सदस्यहरुबाट एक जना प्रतिनिधिलाई प्रतिनिधित्व गराइने छ। पार्टीका २३ वटा जनसंगठनमध्येबाट अनुसूची एक र महासंघीय संरचनामा भएका जनसंगठनबाट कम्तीमा तीन महिलासहित ७ जना प्रतिनिधि हुनेछन्। यसअन्तर्गत खेलकुद महासंघ, किसान महासंघ, अनेरास्ववियु, युवा संघ नेपाल लगायत ११ जनसंगठन छन्।

अनुसूची दुई अन्तर्गतका १२ वटा जनसंगठनबाट कम्तीमा दुई महिलासहित पाँच प्रतिनिधिले महाधिवेशनमा सहभागी हुन पाउने एमालेले जनाएको छ। ‘पार्टीले तय गरेको मापदण्डका आधारमा २३ वटा जनसंगठनबाट १३७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन। यसरी सबै क्षेत्रबाट चुनिएर आउने प्रतिनिधिको संख्या २ हजार २६ हुनेछ। एमालेको विधानमा कुल निर्वाचित प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ। जस अनुसार पार्टी सचिवालयले १०१ जना प्रतिनिधि मनोनयन गर्दा कुल प्रतिनिधिको संख्या २ हजार १ सय २७ हुनेछ।

चर्चामा

सम्बन्धित समाचार