
बाजुरा— मार्तडी कोल्टी सडक खण्ड अन्तरगत बाजुराको बुढीनन्दा नगरपालिकाको दानसाघू खोलामा ३ दिनको फरकमा दुई फरक–फरक प्रतिनिधिद्वारा दुईवटा पुलको शिलान्यास गरिएका छन् । बुढीनन्दा नगरपालिकाका उप प्रमुखद्धारा साेही ठाउमा बेलिबृजकाे शिलान्यास गरेका छन भने साेही ठाउँमा शनिबार सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पक्की पुलकाे शिलान्याश गरेका हुन ।
स्थानीयबासीले भने योजनात्मक अनिश्चितता र सरकारी कमजोरीको प्रत्यक्ष उदाहरण” भनेर टिप्पणी गरेका छन्। बुधबार बुढीनन्दा नगरपालिकाका उप–प्रमुख राम बहादुर बोहराले जडान प्रक्रिया अघि बढाउन बेलिब्रिजको शिलान्यास गरेका थिए । सो ब्रिज सडक डिभिजन कार्यालय मार्फत झण्डैसडक डिभिजन कार्यालय साँफेबगरले करिब दुई करोड बाइस लाख लागतमा निर्माण हुने जनाइएको छ । तर सोही स्थानमा पुनः शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह स्वयं उपस्थित भएर पक्की पुल निर्माणको शिलान्यास गरेपछि स्थानीय तहदेखि प्रदेशसम्मको परियोजना व्यवस्थापनमा समन्वय कमजोर रहेको स्पष्ट देखिएको छ ।
मुख्य मन्त्री शाहले शिलान्यास गरेको पक्कीपुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ लागतमा निर्माण हुने भएको छ । बेलिबृज र दानसाँघु पक्की पुल एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित काम अघि बढाइने जनाएका छन । पक्कीपुल निमार्णको जिम्मा पी.के कन्ट्रक्सनले पाएको जनाएको छ । “एकै खोलामा पहिले बेलिब्रिज, त्यसपछि ३ दिनमै फेरि पक्की पुल किन? नागरिकले सामाजिक संजालमा प्रश्न गर्न थालेका छन । योजनाको प्रकार, लागत, कार्यादेश र प्राथमिकता निर्धारणबारे खुलेर जानकारी नदिइँदा विकासको नाममा दोहोरो खर्च, समय बर्बाद र अनावश्यक विवाद निम्त्याएको स्थानीयवासीको गुनासो छ ।
विकास परियोजनामा स्थानीय र प्रदेश सरकारबीच समन्वय हुनुपर्ने भए पनि दानसाघू घटनाले राज्य संयन्त्रको असंगठित चरित्र खुलेको छ । प्रदेश सरकार संघिय सरकार दुवै तहले एउटै स्थानमा फरक–फरक योजना बोकेर शिलान्यास गर्नुले सरकारी कमजोरी झल्काएको स्थानीय अगुवाहरूको टिप्पणी छ । स्थानियमा थप अन्यौलता छाएको छ । बेलिब्रिज जडान हुने कि पक्की पुल बन्ने प्रक्रिया अघि बढ्ने? दुवै योजना एउटै स्थानमा कार्यान्वयन सम्भव छ कि छैन? यस्तो अन्योलपूर्ण स्थितिले स्थानीय आवागमनमा राहत कति समयमा पुग्ने हो भन्ने प्रश्न झन् गहिरिएको छ ।
