
बाजुरा– नेपाल सरकारको सहकार्यमा पीसविन नेपालद्वारा सञ्चालित आभा परियोजनामार्फत बाजुरा जिल्लाका चारवटा स्थानीय तहका ३०५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। शैक्षिक सामग्री प्राप्त गर्ने पालिकाहरूमा गौमूल गाउँपालिका, बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिका रहेका छन्।
परियोजनाले विपन्न तथा शैक्षिक रूपमा पछाडि परेका बालबालिकालाई लक्षित गरी विद्यालयमा नियमित शिक्षा प्राप्त गर्न सहयोग पु-याउने उद्देश्यले सामाग्री वितरण गरेको हो। परियोजना अनुसार बालबालिकालाई झोला, स्कुल ड्रेस, एक दर्जन कापी, एक प्याकेट पेन, नेपाली तथा अङ्ग्रेजी व्याकरण पुस्तक, पेन्सिल, इरेजर, सार्पनर, नेपाली, अङ्ग्रेजी, गणितका चार्ट तथा वर्णमाला प्रदान गरिएको परियाेजना संयाेजक पदम कठाएतले बताए ।
विद्यालयद्वारा पहिचान तथा छनोट गरिएका ती बालबालिकालाई सम्बन्धित पालिकाको सिफारिसका आधारमा सामग्री वितरण गरिएको पीसविन नेपालका कठाएतले जानकारी दिएका छन्। आभा परियोजनाले स्थानीय तहसँग समन्वय गर्दै बालबालिकाको शैक्षिक पहुँच अभिवृद्धि तथा सिकाइ वातावरण सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
बडीमालिका नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले यस प्रकारको सहयोगले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई विद्यालय जीवन सहज बनाउने र पठन पाठनमा थप प्रेरणा प्रदान गर्ने बताएका छन्। साथै, परियोजनाले आगामी दिनमा पनि सहयोगका कार्यक्रम निरन्तर रहने जनाएको छ।
