शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • मंसिर महिनाभित्रै सबै राजनीतिक नियुक्ति टुंगिन्छन्‌—मुख्यमन्त्री शाह

मंसिर महिनाभित्रै सबै राजनीतिक नियुक्ति टुंगिन्छन्‌—मुख्यमन्त्री शाह

  • शुक्रबार, मंसिर ६, २०८२
मंसिर महिनाभित्रै सबै राजनीतिक नियुक्ति टुंगिन्छन्‌—मुख्यमन्त्री शाह

बाजुरा—सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजनीतिक नियुक्ति प्रक्रिया यसै मंसिर महिनाभित्रै टुंगिने बताएका छन् । शुक्रवार जिल्ला प्रशासन कार्यालय बाजुरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले प्रदेशका अस्पताल, खेलकुद सहितका निकायमा ढिलाइ भएको राजनीतिक नियुक्ति प्रक्रिया टुंगिने बताएका हुन् ।

मुख्यमन्त्री शाहले बाजुरा जिल्ला अस्पताल शैयामा कम भए पनि प्रदेश स्तरीय अस्पताल भएको भन्दै अस्पतालमा तत्काल थप उपकरण, जनशक्ति र बजेट व्यवस्थापन गरिने बताए । त्यस्तै, जिल्लाका जनप्रतिनिधि, कर्मचारीहरुलाई मुख्यमन्त्री शाहले नीतिगत र संस्थागत सुधार गर्न जरुरी रहेको बताए ।

त्यसैगरी, कार्यक्रममा सहभागी जनप्रतिनिधि र कर्मचारीहरुले प्रदेश सरकारले स्थानीय तह ऐन ल्याएर कर्मचारी राख्ने तथा सेवा प्रवाहमा अधिकार खोस्ने प्रयास गरेको आरोप सहित तत्काल संशोधनको माग गरेका थिए । उक्त विषयमा मुख्यमन्त्री शाहले आफू हुँदासम्म कुनै आन्दोलन र नाराबाजी गर्न नपर्ने भन्दै खुल्ला रुपले छलफल र संवादमार्फत निकासमा पुग्न प्रतिवद्ध रहेको उल्लेख गरे । उनले भने, “ऐन संशोधन नगर्नु पर्ने भए हालसम्म नियमावली टुंगिसक्ने थियो, त्यसकारण केही दफा संशोधन गुर्न पर्ने हुँदा अहिले रोकिएको छ ।” त्यस्तै मुख्यमन्त्री शाहले भर्खरै आफूसहित सभामुख, समिति सभापति र मन्त्रालयका सचिवहरु बसेर तत्काल सदन खुलाउने र क्याबिनेटबाट ऐन संशोधनको प्रक्रिया अगाडि बढाइने जानकारी गराए । अहिले सदन चलिरहेका बेला अध्यादेश हुने भएकाले अध्यादेशबाट ल्याउन नसकिएको समेत स्पष्ट पारे ।

त्यस्तै, उनले आफूले गरेको भेटमा अहिलेका प्रधानमन्त्री वर्तमान संविधान, लोकतन्त्र र संघिय संरचनाप्रति प्रतिवद्ध रहेको भन्दै यहीँ व्यवस्थामार्फत मुलुक अगाडि बढ्ने बताएका छन् । मुख्यमन्त्री शाहले आफूहरु चुनावबाट भाग्न नसक्ने भन्दै अहिले संघिय सरकारले चुनाव गर्छु भनि सकेकाले भन्दै त्यसका लागि वातावरण बनाउन सबैले लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, उपप्रमुख–प्रमुख तथा सरकारी कार्यालयका प्रमुखहरुले कार्य प्रगति सहित याँहाका समस्या र सम्भावनाका बारेमा भनाइ राखेका थिए । त्यस्तै बाजुराबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य जुना दानी, पदम बहादुर शाही र नरेश शाहीले आफूहरु समग्र जिल्लाको विकास निर्माणका लागि प्रतिवद्ध रहेको भन्दै यसमा सबैको साथ सपोटको खाँचो रहेको बताएका छन् ।

जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कमल बहादुर शाह रहेका थिए । त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी शीतल बहादुर रावल, प्रदेश सभा सदस्य नरेश शाही, पदम बहादुर शाही, जुना दानी, स्थानीय तहका उपप्रमुख–प्रमुख, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार