
बाजुरा — “मेरो दिन, मेरो अवसर” भन्ने नाराका साथ बडीमालिका नगरपालिकाले विश्व बालअधिकार दिवस–२०८२ को अवसरमा नगरस्तरिय बालसञ्जाल पुनर्गठन तथा बालअधिकार सम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम निड्स नेपालकाे समन्वय तथा बडीमालिका नगरपालिकाकाे आयोजनामा गरिएको हो।
कार्यक्रममा बडीमालिका नगरपालिका नगरप्रमुख अमर खड्का प्रमुख अतिथिका रूपमा रहेका थिए भने नगर उपप्रमुख नन्दा थापा विशिष्ट अतिथिका रूपमा रहेकी थिइन । उनले बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बाल सहभागिताको महत्त्वबारे आ–आफ्ना भनाइ राखेका थिए । जसमा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख अमर खड्काले बालबालिकालाई राष्ट्रको मौलिक शक्तिको रूपमा चित्रण गरेका छन । उनले भने “बालबालिका हाम्रो भविष्य मात्र होइनन्, तिनीहरू वर्तमानकै महत्वपूर्ण हिस्सा हुन्। उनीहरूको सुरक्षा, शिक्षा, स्वास्थ्य र क्षमता विकास नगरपालिकाको पहिलो प्राथमिकता हो। बालमैत्री व्यवस्थापन बनाउन हामी नीतिगत तथा कार्यक्रमगत रूपमा निरन्तर सक्रिय छौँ। बालअधिकारको सुनिश्चितता स्थानीय तहबाटै संभव छ, त्यसैले हामी प्रत्येक वडामा बाल–अनुकूल वातावरण निर्माणमा जोड दिनेछौँ।” उनले डिजिटल दायरा, बालश्रम, बालविवाह र सामाजिक हिंसा अझै चुनौतीको रूपमा रहेको उल्लेख गर्दै सबै सरोकारवालासँग सहकार्यमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
विशिष्ट अतिथि तथा बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले अभिभावक, शिक्षक र समुदाय तीनै तहको भूमिकाले मात्र बालअधिकार प्रत्याभूत हुने बताउँदै उनले भनिन्— “बालबालिकालाई सुरक्षित वातावरण दिनु हामी सबैको समान दायित्व हो। उनीहरूलाई सुन्ने, सिकाउने र सही बाटो देखाउने काम समुदायकै हो। नगरपालिकाले बाल–सहभागिता बढाउने, विद्यालयमै बालमैत्री कार्यक्रम सञ्चालन गर्ने र बालबालिकालाई प्रभाव पार्ने जोखिम घटाउने नीति अघि बढाउँदै आएको छ।” उनले बालसञ्जाल पुनर्गठनलाई महत्वपूर्ण उपलब्धि बताउँदै सञ्जालले बाल–अनुकूल गतिविधि अगाडि बढाउनेमा आशा व्यक्त गरेकी छन।
कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख केशरी राेकायाले बाल अधिकारका चार आधारभूत पक्ष— जीवन, विकास, संरक्षण र सहभागिता—बारे सहजीकरण गरेकी थिइन। कार्यक्रमको नगरस्तरिय बाल सञ्जालकी कोषाध्यक्ष ईस्वरा ऐडीकाे अध्यक्षतामा सचालन गरिएकाे कार्यक्रमकाे सञ्चालन बाल अधिकार सजालका प्रतिनधी आशिष वि.क.गरेका थिए । सहभागीहरूलाई स्वागत गर्दै बाल अधिकृत रामबहादुर खत्रीले बालबालिकाको अधिकार सुनिश्चित गर्ने प्रक्रियामा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, बाल क्लबका सदस्य, अभिभावक, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय समुदायको व्यापक सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिकाको अधिकार, सुरक्षा, सहभागिता, र उनीहरूको नेतृत्व विकासका विषयमा अन्तरक्रिया, अभिमुखीकरण तथा छलफल गरिएको आयोजकले जनाएको छ। बडीमालिका नगरपालिकाले बालमैत्री शासन व्यवस्थाको विकास तथा बाल अधिकारको सुनिश्चितताका लागि स्थानीय तहमै निरन्तर कार्यक्रम सञ्चालन गरिरहेकाे छ । नगरस्थरिय बाल संजालकाे आजै नयाँ कार्यसमिति समेत चयन गरिने भएकाे छ ।
