
बाजुरा— लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०२५ (२०८२ मंसिर ९ गतेदेखि २४ गतेसम्म) अवसरमा बडीमालिका नगरपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेर अभियान मनाउने निर्णय गरेको छ। नगरपालिकाले डिजिटल माध्यमबाट बढ्दै गएको लैङ्गिक हिंसा रोकथाममा समुदायको सक्रियता बढाउने उद्देश्यसहित विस्तृत कार्ययोजना सहित अगाडी बढ्ने निर्णय गरेकाे हाे ।
बैठकमा सहभागीहरूबीच लैङ्गिक हिंसा रोकथाम सम्बन्धी वर्तमान चुनौती, डिजिटल प्लेट फर्ममार्फत भइरहेका दुरुपयोग, समुदायमा ब्यापक सचेतना विस्तार गर्ने उपाय, विद्यालय तथा युवासँगको सहकार्य, स्थानीय संस्थाहरुको भूमिका लगायत विषयमा विस्तृत छलफल गरिएको थियो।
“प्रविधिको सही प्रयोग गरौँ; लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०२५ (२०८२ मंसिर ९ गतेदेखि २४ गतेसम्म) सचालन हुने भएकाे छ । नगरपालिकाले अभियान अन्तर्गत विद्यालयमा अभिमुखीकरण कार्यक्रम, समुदायस्तरमा अन्तर्क्रिया, डिजिटल सुरक्षित उपयोगसम्बन्धी तालिम, महिला तथा किशोरी समूहसँग सम्वाद, वडास्तरिय सचेतना कार्यक्रम, पोस्टर–ब्यानर प्रकाशन, सामाजिक सञ्जालमार्फत १६ दिनका सन्देश प्रसारण, र सरोकारवाला संस्थाहरूसँग सहकार्य गरेर दिगो रूपमै अभियान विस्तार गर्ने तयारी गरेको जनाएको छ।
उपप्रमुख थापाले सबै सरोकारवालाको सहकार्यबिना लैङ्गिक हिंसामुक्त समाज सम्भव नभएको बताउँदै अभियानलाई प्रभावकारी बनाउन नगरपालिका प्रतिवद्ध रहेको उल्लेख गरिन्। प्रमुख अतिथि खड्काले प्रविधि आधुनिक जीवनको महत्वपूर्ण पक्ष भए पनि यसको दुरुपयोगले गम्भीर समस्या सिर्जना गरेको भन्दै सुरक्षित र जिम्मेवार डिजिटल व्यवहार विकास गर्न सम्पूर्ण नागरिकको भूमिका आवश्यक हुने बताए।
बैठकले सबै वडालाई आ–आफ्नो क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ। नगरपालिकाले १६ दिनका कार्यक्रममार्फत लैङ्गिक हिंसा विरुद्ध समन्वित आवाज उठाउने र समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।
आज बिहान सम्पन्न कार्ययोजना तर्जुमा बैठक नगर उपप्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा बसेको थियो। सो बैठकमा नगर प्रमुख अमर खड्का प्रमुख अतिथि रहेका थिए। बैठकमा सबै ९ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, सरोकारवाला निकायका प्रमुख तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता थियो।
