
काठमाडौं— नेकपा (एमाले) केन्द्रीय संगठन विभागको बैठक आज बसेको छ। विभागका प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा च्यासलमा बसेको बैठकले पार्टीको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा छलफल गरेको संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए।
उनका अनुसार पार्टीका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल समेतका उपस्थितिमा भएको बैठकमा आसन्न ११ औं महाधिवेशनको प्रतिनिधिसँग सम्बन्धित विषयमा थप स्पष्ट पार्न छलफल भएको हो
प्रतिनिधि छनोटका लागि मंसिर १३ गतेसम्म सर्वसम्मत वा मतदान प्रक्रियाबाट भए पनि निर्वाचन सम्पन्न गरिसक्नु पर्ने र १५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा विवरण पठाउनु पर्ने निर्णय भएको ढुङ्गेलले जानकारी दिए।
त्यसका लागि आवश्यक समन्वय गर्नका लागि संगठन विभागका सदस्यहरूलाई जिम्मेवारी समेत दिइएको उनले बताए। ‘पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनको विषयमा थप स्पष्ट हुने काम भयो, प्रक्रिया जहिले सुरु गरेपनि मंसिर १३ गतेसम्म प्रतिनिधि छनोटको काम टुङ्गिनु पर्छ र १५ गते भित्र प्रतिनिधिको नाम केन्द्रमा आइसक्नुपर्छ’, उनले भने ।
एमालेको एघारौँ महाधिवेशन मंसिर २७ गतेदेखि काठमाडौंमा हुँदैछ।
