
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी त्यागेको छन् ।
उनले आफ्नो राजीनामा पत्र रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका हुन् ।
राजीनामासँगै उनले अब ‘स्वतन्त्र र जनमुखी नयाँ अभियान’ सुरु गर्ने घोषणा पनि गरेका छन् । विघटित प्रतिनिधिसभामा परियार पार्टीका प्रमुख सचेतक थिए ।
निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा पनि त्यसलाई स्थापित गर्न नसकेकाे राजीनामा पत्रमा उल्लेख छ।
महामन्त्रीलाई सम्बाेधन गरिएकाे राजीनामा पत्रमा भनिएकाे छ, ‘नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुखी छु। यसै सन्दर्भमा, गएको भदौ २३ र २४ गते नेपालको राजनीतिक इतिहासमा भएको पछिल्लो पुस्ता (Gen-G) को विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ। यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ।’
जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलिरहेको उनकाे बुझाई छ। हरेक राजनीतिक पार्टी र व्यक्तिले पनि आगामी नेपाली राजनीतिलाई अझ फराकिलो हिसाबमा सोच्नुपर्ने अवस्था आएको बताएका छन्।
भनिएकाे छ, ‘नेपाली राजनीतिक आन्दोलनको पुनर्संचना, अवधारणाहरूको पुनपरिभाषा र संगठनहरूको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो पुस्ताको काँधमा आएको छ। तसर्थ, बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति कार्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने निवेदन गर्दछु।’
