
काठमाडौं —नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको महाधिवेशनमा राजनीतिक, सांगठानिक प्रस्ताव र विधानमा थप बहस र परिमार्जन आवश्यक रहेको बताएका छन्।
अध्यक्ष केपी ओलीले महाधिवेशनमा छलफल नहुने धारणा सार्वजनिक रूपमै बोलेपछि उनले यस्तो बताएका हुन्।
उनले भनेका छन्, ‘भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवश्यकता छ । तसर्थ, आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ ।’
पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्न पार्टीपंक्तिलाई आह्वान गरेका छन्।
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफूले उद्घाटन मन्तव्य दिएपछि चुनावी प्रक्रिया शुरु हुने भन्दै अरु बहस नहुने बताएपछि पोखरेलको जवाफ आएको हो । पोखरेल अध्यक्षमा ओलीसँग प्रतिस्पर्धाको तयारीमा छन् ।
उनकाे अपिल जस्ताकाे तस्तै-
भदौ २३ गते भएको ‘नव-युवा पुस्ता'(जेनजी पुस्ता ) को आन्दोलन र २४ गते गरिएको विध्वंसबाट मुलुकमा उत्पन्न असामान्य र अकल्पनीय घटनापछि विकसित परिस्थितिमा अहिले हामीहरू उभिएका छौँ । अहिले संविधानमाथि अतिक्रमण गरिएको र प्रतिगमनका प्रयत्न भएका छन् र त्यसैको जगमा मुलुकलाई अगाडि बढाउने कोसिस गरिँदै छ ।
अहिले यसैको जगमा आम जनताको दैनिकी क्रमशः सामान्य हुँदै गए जस्तो देखिए पनि राजनीतिक अन्यौलता र अनिश्चितता भने कायमै छ र गहिरिँदो छ । राष्ट्रियता, लोकतन्त्र , संविधान , राष्ट्रिय जीवन र नागरिक अधिकार माथिको खतरा उस्तै छ । यो असाधारण अन्यौलता, अनिश्चितता र अप्ठ्यारोबाट मुलुकलाई मुक्त गरी लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व , सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा लैजानुपर्ने ऐतिहासिक कार्यभार हाम्रा अगाडि छ ।
यो महत्त्वपूर्ण र ऐतिहासिक कार्यभार पुरा गर्न लोकतन्त्रप्रति प्रतिबद्ध सबै राजनीतिक दल , नव युवा पुस्ता, नागरिक समाज र राज्यका निकायहरू बिचको समझदारी, एकता र गहिरो आपसी विश्वास जरुरी छ । त्यही एकता र विश्वासको जगमा नै हामीले मुलुकको स्वतन्त्रता , सार्वभौमिकता, राष्ट्रिय एकता , स्वाधीनता , स्वाभिमान र लोकतन्त्रलाई अक्षुण्ण राख्न सक्छौँ । यसबिच व्यक्त भएको नव युवा पुस्ता र आम जनताको आकाङ्क्षा, आशा , असन्तुष्टि र आक्रोशलाई नजरअन्दाज गरेर अघि जान मिल्दैन र सकिँदैन पनि ।
त्यसले दिएको सन्देश र स्थापित गर्न खोजेको मानक, त्यसमा व्यक्त मनोविज्ञानलाई ग्रहण गर्न जरुरी छ । सोही अनुसार हाम्रो विचार , कार्यशैली र भविष्यका योजनाहरूलाई अद्यावधिक गर्न जरुरी छ । राष्ट्रिय जीवनमा गम्भीर क्षति पुर्याएको भदौ २४ को विध्वंसलाई कुनै पनि बहानामा बेवास्ता गर्न सकिँदैन । त्यसमा संलग्नहरूलाई उन्मुक्ति दिएर हामीले राष्ट्रिय आत्मविश्वास उठाउन सक्दैनौँ । त्यसका लागि हामी सबैले आग्रह , पूर्ववत् अडान , अहंकारलाई त्यागेर नयाँ विश्वास र नयाँ आशा निर्माण गर्न सक्नु पर्छ ।
आन्दोलन र विध्वंसको पक्ष / विपक्ष वा वादी / प्रतिवादीको रूपमा मनोविज्ञान भड्काएर राष्ट्रियता, लोकतन्त्र , संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षा गर्न सकिँदैन । इतिहासका हरेक राष्ट्रिय सङ्कट र अप्ठ्याराहरूमा जिम्मेवार भूमिका निर्वाह गर्दै मुलुकमा सकारात्मक निकासका लागि नेतृत्व गर्दै आएको पार्टी – नेकपा (एमाले) हो भन्ने कुरा आम नेपाली नागरिकहरू सबैलाई जानकारी भएकै कुरा हो । पार्टीको यो भूमिकासित गाँसिएर एउटा जीवित साक्षी र सिपाहीको रूपमा म आफू पनि रहेको जानकारी गराउन चाहन्छु ।
स्कुले विद्यार्थी हुँदादेखि , को-अर्डिनेसन केन्द्र, नेकपा (माले) हुँदै नेकपा (एमाले) का प्रारम्भिक दिनदेखि ; भूमिगत जीवन, जेल जीवन , निरङ्कुश पञ्चायती शासन काल , त्यसपछिको खुला राजनीतिमा संसदीय भूमिका, सरकारी कामको जिम्मेवारी बहन गर्ने सिलसिलामा र पदीय हिसाबले पार्टीको केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी, दुई पटक महासचिव हुँदै हाल पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेको छु । यस क्रममा सदैव राष्ट्र, जनता र पार्टी हितमा रहँदै आएको कुरा सगौरव स्मरण गराउँदछु ।
आगामी दिनमा पनि मेरो यो प्रतिविद्धतामा कुनै कमी आउने छैन । म यो कठिन परिस्थितिमा आम जनसमुदाय , जेनजी पुस्ता र पार्टी पंक्तिलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा मुलुकलाई फर्काउन विगतमा जस्तै फेरि एक पटक अभूतपूर्व एकताका लागि अपिल गर्दछु । त्यसका लागि हाम्रो तर्फबाट भएका कमजोरीप्रति आत्मालोचना हुँदै राष्ट्रियता, लोकतन्त्र, संविधान, राष्ट्रिय जीवन र नागरिक अधिकारको रक्षाका लागि अविचलित रूपमा उभिने दृढता व्यक्त गर्दछु । मलाई थाहा छ – यही परिस्थितिमा हुन लागेको हाम्रो पार्टी नेकपा ( एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनले ( २७-२९ मङ्सिर २०८२, काठमाडाैं) सबैको ध्यान तानेको छ । गत २०-२२ भदौ मा भएको विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रस्ताव, विधान संशोधन प्रस्ताव लगायत दस्ताबेजहरू पारित गरिएको थियो । भदौ २३-२४ पछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ ।
राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद् जस्ता संस्थाहरू समेत हिजोको अवस्थामा छैनन् ( रहेनन् ) । यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढङ्गले मार्ग निर्देशन गर्न सक्तैन । हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ । भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवश्यकता छ ।
तसर्थ , आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ । हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्षमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ । महाधिवेशन प्रतिनिधिहरूको छनोट मङ्सिर १३ गते देशभर एकै दिन हुँदैछ । ज ब ज को सङ्गठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपिल गर्दछु ।
प्रतिगमनको विरोध गर्दै संविधानको रक्षा, असंवैधानिक तरिकाले गरिएको संसद् भंगको खारेजी तथा घोषित मितिमा संसद्को निर्वाचन सम्पन्न गर्न उपयुक्त वातावरण निर्माणका लागि जनदबाब सिर्जना गर्नु आवश्यक छ । यही आवश्यकता बोध गरेर नेकपा ( एमाले) ले देशैभरि जनपरिचालन गर्ने निर्णय अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमको आयोजना गरेको छ । यस क्रममा यही कार्तिक २९ गते प्रत्येक जिल्ला र मङ्सिर ६ गते राजधानी काठमाडाैंमा आयोजना हुने जागरण प्रदर्शनमा सक्रिय सहभागी हुन म सम्पूर्ण पार्टी पङ्क्ति तथा आम जनसमुदायलाई अपिल गर्दछु ।
