
बाजुरा– नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष लाल बहादुर ओलीले वर्तमान सरकार निर्वाचन गर्ने दिशामा नलागेको र उसको कार्यशैलीले निर्वाचनको वातावरण नबनाएको आरोप लगाएका छन् । नेकपा एमाले बाजुराद्धारा कार्तिक २९ गते अर्थात भोली हुने जिल्ला भेला कार्यक्रमका बारेमा जानकारी गराउने उदेस्यका साथ गरिएको आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । निर्वाचनको मुख्य सरोकारवाला रहेका राजनीतिक दलका नेताहरूलाई समेत नभेट्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले निर्वाचन गराउनेमा आफूहरूलाई विश्वास नलागेको अध्यक्ष ओलीले बताए ।
अध्यक्ष ओलीले भने, सरकार‘ढङ्गले आओस्, एमाले निर्वाचनबाट भागेर बाहिर जाँदैन । तर, निर्वाचन हुँदैछ भन्ने कुराको विश्वास दिलाउने खालको सरकारी छाँटकाट नै छैन । कामकारबाही नै त्यो खालको भइरहेको छैन ।’ अध्यक्ष ओलीले निर्वाचनमय वातावरण बनाउने जिम्मेवारी सरकारको नभएको भन्दै वर्तमान सरकारको कामकारबाहीले निर्वाचनको वातावरण बनाउने भन्दा बिगार्ने तिर बढी गएको बताए ।
देशभर बढ्दै गएको असुरक्षा, राजनीतिक हस्तक्षेप र सरकारी उदासीनताप्रति कडा आपत्ति जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराले पत्रकार सम्मेलन मार्फत सात बुँदे विज्ञप्ती सार्वजनिक गरिएको छ । विज्ञप्तीमा संविधान, लोकतन्त्र, कानूनको शासन र राष्ट्रिय एकता संरक्षणका लागि तत्काल कदम चाल्न सरकारलाई दवाब दिने कार्यक्रम रहेको जनाएको छ ।
देशभर भएका हत्या, हिंसा, डकैती, चोरी र अन्य आपराधिक गतिविधि ‘असामान्य रुपमा बढेको’ भन्दै यी घटनाले देशको सुरक्षा अवस्था कमजोर भएको दाबी गरेको जनाएको छ । यिनको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न विज्ञप्तीमा जोड दिइएको छ। नेकपा एमाले बाजुराले कार्तिक २९ गते गर्ने भनिएको कार्यक्रममा देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन व्यापक जनसम्पर्क अभियान सुरु जनाएको छ । त्यसै गरि राज्यका संवैधानिक संस्थाहरू, राष्ट्रिय एकता र राज्य संरचनाको संरक्षण गर्न सरकारलाई दवाब दिने, विदेशी हस्तक्षेपविरुद्ध देशव्यापी जनजागरण कार्यक्रम सञ्चालन गर्ने जनाएकाे छ ।
न्याय प्रणाली, सुशासन र सामाजिक न्याय मजबुत बनाउन सरकारका कमजोरीहरू तत्काल सच्याउन आग्रह, जेन जी आन्दोलनमा भएका हत्या, हिंसा, लुटपाट, चोरी तथा आपराधिक घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन जनजागरण कार्यक्रमको मुख्य उदेस्य रहेको जनाएको छ ।
शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सरकार जिम्मेवार बन्नुपर्ने चेतावनी हत्या, हिंसा र आतंक फैलाउने समूह तथा व्यक्तिमाथि कडा कारबाही गर्न निरन्तर जनदबाब सिर्जना गर्ने उदेस्यका साथ जिल्ला सदरमुकाम मार्तडीमा सो कार्यक्रमको आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । वर्तमान सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संविधानको मूल्य–मान्यता र जनताको अधिकार जोगाउन सबै पक्ष सक्रिय हुनुपर्ने नेकपा एमाले बाजुराले धारण ब्यक्त गरेको छ ।
