
बाजुरा—बाजुराको बडीमालिका नगरपालिका ८ मा प्रस्तावित बडीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा सम्बन्धी छलफल गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम अन्तर्गत बडीमालिका रामारोशन उच्च पर्वतीय पारिस्थितिकीय प्रणाली संरक्षण परियोजनाले वडा स्तरमा छलफल थालेको हो ।
उक्त परियोजनाले बडीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने, सो क्षेत्रको व्यवस्थापन र दिगो व्यवस्थापनका लागि समुदाय परिचालन सम्बन्धी काम गरिरहेको जनाएको छ । सन् २०२४ डिसेम्बरबाट सुरु भएको सो परियोजनाले मे २०२९ सम्म बडीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने र त्यस सम्बन्धी गतिविधिहरु गरी सक्ने लक्ष्य राखेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले हालसम्म प्रदेश तथा स्थानीय तहमा सरोकारवालाहरुसँग छलफल, बडीमालिका र रामारोशनमा जैविक विविधता, आर्थिक सामाजिक परिवेश र सिमा निर्धारण सम्बन्धी काम गरेर वडा स्तरीय छलफल थालिएको बताए । परियोजनाले बाजुराको बडीमालिका र त्रिवेणी नगरपालिका र अछामको रामारोशन गाउँपालिका र नजिकका अन्य पालिका क्षेत्रका सबै वडाहरुमा परियोजनाबारे जानकारी दिने, छलफल गर्ने र आर्थिक र सामाजिक वातावरणले प्रभाव पर्न नदिने गरी योजना बनाउने लक्ष्य कार्यक्रमले राखेको बताए । आज वडा नम्बर ८ बाट सुरु भएको छलफल कार्यक्रम बडीमालिका र त्रिवेणीका सबै वडाहरुमा सञ्चालन हुने प्रमुख जोशीले बताए । उनले वडा तथा समुदाय स्तरमा गएर परियोजनाबारे जानकारी दिने र उनीहरुको आवश्यक सुझाप र मञ्जुरीपछि मात्रै यस सम्बन्धीका काम अगाडि बढ्ने बताए ।
त्यस्तै, उक्त परियोजनाले आगामी ४ बर्षसम्म बडीमालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने र वन संरक्षण क्षेत्रको व्यवस्थापन सम्बन्धी सर्म्पूण काम सम्पन्न गर्ने उदेश्य लिएको छ ।
सो विषयमा छलफल गर्न आयोजित वडा स्तरीय कार्यक्रममा सहभागीहरुले बडीमालिकाको संरक्षण, वन्यजन्तु तथा जडिबुटी चोरी निकासी रोकथाम, प्राकृतिक स्रोत साधनको दिगो उपयोग, वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण, आयआर्जनमा वृद्धि तथा राष्ट्रिय अन्तरराष्ट्रिय सहयोग प्राप्त गर्नका लागि पनि यसलाई वन संरक्षण क्षेत्र घोषणा गर्न आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा बडीमालिका ८ का वडा अध्यक्ष चन्द्र बहादुर थापाले आफू निर्वाचित भएदेखि नै बडीमालिकाको संरक्षण र विकासका लागि पहल गरिरहेको बताएका छन् । उनले धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको संरक्षण गर्न हामी सबैको साझा दायित्व भएको भन्दै विशेष गरी स्थानीय र याँहा सामुदायिक वन समितिहरुले सक्रिय भई दिन अनुरोध गरेका छन् ।
त्यस्तै, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बडीमालिका क्षेत्रमा देखिएको सीमा विवाद समाधान गर्न प्रदेश स्तरमा पटकपटक छलफल गरेको बताएका छन् । नगर प्रमुख खड्काले भने, “सीमा विवादका विषयमा निर्णय गर्ने जिम्मा माथिल्लो निकायलाई छोडेर हाम्रो स्तरबाट बडीमालिकालाई धार्मिक तथा पर्यटकीय सम्भावनाको विकासका रुपमा अगाडी बढाउन लागि रहेका छौं ।” यस्तै बडीमालिका क्षेत्रमा अव्वस्थित चरिचरन, जडिबुटीको अवैध चोरी निकारी गर्ने क्रम बढेकाले विस्तारै त्याँहा प्राकृतिक सुन्दरतामा ह्रास आइरहेको र विभिन्न स्थानमा निर्माण गरिएका आश्रम स्थलहरु पनि भत्काउने काम देखिएको भन्दै त्यसमा जिम्मेवार भईदिन नगर प्रमुख खड्काले स्थानीयहरुलाई आग्रह गरेका छन् ।
बडीमालिका ८ का अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए । यस्तै कार्यक्रममा शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशी, वडा सदस्य, परियोजनाका प्रतिनिधि सहित वडाका स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।
