
मानव जीवन केवल शारीरिक अस्तित्वको नाम होइन। मनुष्यलाई अन्य जीवभन्दा महान् बनाउने शक्ति भनेको उसको विवेक, संस्कार र नैतिक चेतना हो। आजको युगमा विज्ञान, प्रविधि र भौतिक विकासले मानिसलाई ज्ञानवान् बनाएको छ, तर उसले त्यत्तिकै तिव्र गतिमा आफ्नो नैतिक मूल्य र मानवीय संवेदनालाई बिर्सिंदै गएको देखिन्छ।
शिक्षा प्राप्त व्यक्ति धेरै छन्, तर संस्कारयुक्त व्यक्ति दुर्लभ छन्। संस्कार र नैतिक शिक्षा नै त्यो आधार हो, जसले मानव सभ्यतालाई साँचो अर्थमा “मानवता” दिन्छ। “संस्कार” शब्द संस्कृत भाषाको “सं” र “कॄ” धातुबाट बनेको हो, जसको अर्थ हुन्छ , शुद्धीकरण, परिष्कार, र सुधार गर्ने प्रक्रिया भन्ने हुन्छ।
संस्कार भनेको मानिसको अन्तर्मनमा सद्गुण रोप्ने कर्म हो, जसले उसको सोच, व्यवहार र दृष्टिकोणलाई पवित्र र सकारात्मक बनाउँछ। बालकको चरित्र परिवारबाट सुरु हुन्छ, त्यसपछि विद्यालय, समाज र वातावरणले त्यसलाई थप घचघच्याउँछ। जस्तै कुमालेले घैंटो बनाउँदा माटो छानेर, सोधेर, आकार दिएर र अन्ततः आगोमा पकाएर मात्र पानी राख्ने योग्य बनाउँछ, त्यस्तै मानिस पनि संस्कारका अनेक चरण पार गरेर मात्रै समाजका लागि उपयोगी, स्थायी र आदर्श बन्न सक्छ।
घैंटोमा पानी राख्दा त्यो पानी चिसो र ताजगीपूर्ण हुन्छ; त्यस्तै संस्कारयुक्त मानिस समाजमा शान्ति, स्थिरता र ताजगी ल्याउने माध्यम बन्छ। शिक्षा र संस्कार एउटै सिक्काका दुई पाटा हुन्, तर दुवैको काम फरक–फरक छ। शिक्षा भनेको ज्ञान प्राप्त गर्ने प्रक्रिया हो , जसले बुद्धि र तर्कको विकास गर्छ। संस्कार भनेको चरित्र निर्माण गर्ने प्रक्रिया हो !जसले विवेक र सदाचारको चेतना दिन्छ।
शिक्षा व्यक्ति बुद्धिमान् बनाउँछ, तर संस्कारले नै उसलाई सद्बुद्धिमान् बनाउँछ। शिक्षा भए पनि संस्कार नहुँदा व्यक्ति गलत दिशामा जान सक्छ। रावणको उदाहरण यसैको प्रमाण हो ,उसले सम्पूर्ण वेद–शास्त्रको ज्ञान पाएको थियो, तर संस्कारको अभावमा त्यस ज्ञानलाई विनाशको बाटोमा प्रयोग गर्यो। त्यसैगरी, इतिहासमा धेरै ज्ञानी, पदाधिकारी वा “प्रगतिशील” भनिने व्यक्तिहरू पनि संस्कारको कमीका कारण नैतिक पतनमा पुगेका छन्।
त्यसैले भनिन्छ ,ज्ञानले आँखालाई देख्न सिकाउँछ, संस्कारले त्यस दृष्टिलाई सही दिशा दिन्छ। नैतिकता मानव चरित्रको आत्मा हो। नैतिक शिक्षा भन्नाले मानिसमा सत्य, अहिंसा, अनुशासन, परोपकार, सहिष्णुता, देशभक्ति र करुणा जस्ता गुणहरूको विकास गर्नु हो। शिक्षा मानिसको बुद्धि निर्माण गर्छ भने नैतिक शिक्षाले उसको आत्मा निर्माण गर्छ।
आजको युगमा, प्रविधि र प्रतिस्पर्धाले मानिसलाई भौतिक रूपमा उन्नत बनाएको छ, तर उसको अन्तर्मनमा शून्यता बढ्दै गएको छ। पढेलेखेका मानिसले नै भ्रष्टाचार गर्छन्, ठूला पदमा पुगेकाले नै समाजभित्र अन्याय फैलाउँछन्, र शिक्षित युवाले पनि लज्जा, अनुशासन र मानवताको अर्थ बिर्सिरहेका छन्।
यसको मूल कारण हो । शिक्षा र संस्कारबीचको असन्तुलन नै हो। यदि विद्यालयमा बच्चालाई ज्ञानसँगै नैतिकता, मानवीयता र सदाचार सिकाइयो भने, त्यो बच्चा भविष्यमा जिम्मेवार नागरिक बन्न सक्छ।
तर केवल अंक, प्रमाणपत्र र प्रतिस्पर्धामात्रको शिक्षा प्रणालीले मान्छेलाई मेशिन बनाउँछ, मानवीयता होइन। संस्कार किताबबाट मात्र सिकाइँदैन; यो त व्यवहार, वातावरण र उदाहरणबाट सिकिन्छ। माता–पिता नै पहिलो गुरु हुन्। उनीहरूको बोली, व्यवहार र दृष्टिकोण नै बालकका लागि पहिलो पाठशाला हो। घरमा असत्य, झूट र हिंसा देख्ने बालकले त्यो नै सत्य ठान्छ; तर घरमा ममता, आदर, परोपकार र अनुशासन देख्ने बालकले नैतिकता आत्मसात् गर्छ। त्यसपछि समाज र विद्यालयले संस्कारलाई दृढ बनाउँछ।
गुरुहरू केवल विषयको ज्ञान दिने होइनन्; उनीहरूले विद्यार्थीको चरित्र निर्माण गर्ने जिम्मा पनि लिन्छन्। गुरुकुल परम्परामा विद्यार्थीलाई केवल मन्त्र र वेद होइन, सेवा, अनुशासन, ब्रह्मचर्य र आत्मसंयम सिकाइन्थ्यो। त्यो नै वास्तविक शिक्षा थियो — जसमा ज्ञान र संस्कार दुवै एकसाथ हुन्थे ।संस्कार, शिक्षा र नैतिकता सबैको मिलनबिन्दु हो दीक्षा। दीक्षा भनेको आत्मप्रतिज्ञा हो — भगवान्, गुरु र आत्मासँग सत्य र सदाचारको बाटो नछोड्ने प्रण गर्नु।
दीक्षा लिने व्यक्ति केवल ज्ञानवान् होइन, दयालु र जिम्मेवार पनि हुन्छ। अहिलेको समयमा दीक्षा र संस्कारको अर्थ केवल धार्मिक कर्ममा सीमित गरिन्छ, तर यसको वास्तविक अर्थ त आत्मशुद्धि र चरित्रको निर्माण हो। आजको विश्वमा प्रविधि, सूचना र मनोरञ्जनले मानिसलाई तात्कालिक सुख मा रमाउने बनाइरहेको छ। टेलिभिजन, मोबाइल र इन्टरनेटले ज्ञान त दिएका छन्, तर संस्कार चोसेका छन्। सामाजिक सञ्जालमा देखावटीपन, आक्रोश र असहिष्णुता बढ्दै गएको छ।
मानिसले सफलता र धनलाई नै मूल्य ठान्छ, तर सादगी, इमानदारी र प्रेमलाई कमजोर ठान्छ। यस्तो अवस्थामा संस्कार र नैतिक शिक्षा पुनः जीवनको केन्द्रमा ल्याउन आवश्यक छ। विद्यालयमा नैतिक शिक्षा अनिवार्य विषय बनाउनुपर्छ। अभिभावकले बच्चालाई केवल पढ्न होइन, जीवनका मूल्यहरू सिकाउन समय दिनुपर्छ। मिडियाले पनि सनसनी होइन, सदाचार र प्रेरणादायी सामग्रीलाई प्राथमिकता दिनुपर्छ।
संस्कार र नैतिक शिक्षा मानव जीवनका आत्मा हुन्। शिक्षा बिना मानिस अन्धकारमा हुन्छ, तर संस्कार बिना शिक्षा दिशाहीन हुन्छ। संस्कारयुक्त शिक्षा नै समाजलाई सभ्य, न्यायपूर्ण र समतामूलक बनाउँछ। हामी सबैले बाल्यकालदेखि नै आफ्ना सन्तानमा सद्गुण, सहिष्णुता, सत्य र प्रेमका बीउ रोप्नुपर्छ , किनकि संस्कार नै त्यो अदृश्य शक्ति हो, जसले बुद्धिलाई विवेक, ज्ञानलाई करुणा र जीवनलाई अर्थ प्रदान गर्छ। संस्कार र नैतिक शिक्षाले मात्र हाम्रो देश, समाज र मानवीय सभ्यतालाई साँचो रूपमा उज्यालो बनाउनेछ। संस्कारयुक्त नागरिक नै सशक्त राष्ट्रको मेरुदण्ड हुन्, र त्यस्ता नागरिकको निर्माण विद्यालयको पाठ्यक्रमले होइन, संस्कारको अभ्यासले हुन्छ। संस्कार बिना शिक्षा अधूरो हुन्छ,
शिक्षा बिना संस्कार अन्धो हुन्छ।
