• होमपेज
  • समाज
  • महिला हिंसा : नेपालको यथार्थ र समाधान

महिला हिंसा : नेपालको यथार्थ र समाधान

  • आइतवार, कार्तिक २४, २०८२
महिला हिंसा : नेपालको यथार्थ र समाधान

नेपालमा महिला हिंसा अहिले पनि एउटा गम्भीर सामाजिक समस्या बनेको छ। महिला भएकै कारण उनीहरूले विभेद, अन्याय, शारीरिक तथा मानसिक आघात सहनु परिरहेको छ। समाजमा पुरुषप्रधान सोचाइ, परम्परागत मान्यता र असमान सामाजिक संरचनाका कारण महिलामाथि विभिन्न प्रकारका हिंसात्मक गतिविधि भइरहेका छन्। धेरैजसो अवस्थामा महिलाहरूले आफू हिंसाको सिकार बनेको अनुभूति नै गर्न सक्दैनन्, किनभने त्यस्ता व्यवहारहरू समाजले ‘सामान्य’ भनेर स्वीकार गरेको हुन्छ।

नेपालमा महिला हिंसाका प्रमुख कारणहरू सामाजिक, सांस्कृतिक र कानुनी कमजोरी हुन्। बलात्कार, दाइजो प्रथा, बोक्सीको आरोप, छाउपडी प्रथा, घरेलु हिंसा, कार्यस्थलमा हुने यौन दुर्व्यवहार आदि घटनाहरू दिनहुँजसो सुनिन थालेका छन्। विशेषगरी ग्रामीण भेगमा अशिक्षा, गरिबी र अन्धविश्वासका कारण महिलामाथि बोक्सीको आरोप लगाई यातना दिने, मलमूत्र खुवाउनेजस्ता अमानवीय घटनासमेत घटिरहेका छन्। तराई क्षेत्रमा दाइजोका कारण महिलाले आत्महत्या गर्नुपरेका हृदयविदारक घटना पनि छन्।

अझ दुःखको कुरा के छ भने शिक्षित समाज र सहरमा समेत महिलामाथि हिंसा कम भएको छैन। घरपरिवारमा श्रीमानबाट श्रीमतीमाथि हुने हिंसा, कार्यालयमा हुने मानसिक तथा यौन दुर्व्यवहार, र सामाजिक सञ्जालमा हुने चरित्रहत्या आजका नयाँ रूपका हिंसाका उदाहरण हुन्। इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगले साइबर हिंसाको समस्या थपिएको छ। कानुन कमजोर भएकाले धेरैजसो अपराधी सजायबाट जोगिन सफल हुन्छन्, जसले अपराधीको मनोबल बढाउने काम गरेको छ।

महिला हिंसा रोक्नका लागि राज्य, नागरिक समाज, सञ्चारमाध्यम, र आम नागरिक सबैको भूमिका अत्यन्त जरुरी छ। चेतना अभिवृद्धि, शिक्षा, कानुनी सशक्तिकरण, र कडा कारबाहीका माध्यमबाट मात्र यस्तो समस्या घटाउन सकिन्छ। हिंसामा संलग्नलाई कठोर सजाय दिइनुपर्छ र पीडितलाई न्याय दिलाउन राज्य संयन्त्रले प्रभावकारी रूपमा काम गर्नुपर्छ।

शिक्षा प्रणालीमा नैतिक शिक्षा र लैङ्गिक समानताको विषय समावेश गर्नुपर्छ, ताकि भविष्यका नागरिकहरूमा महिलाप्रतिको सम्मान र समानताको भावना विकास होस्। सञ्चारमाध्यमहरूले पनि यस्ता विषयमा संवेदनशील भएर काम गर्नुपर्छ, किनकि तिनै समाजका ऐना हुन्। संविधानले महिलाको हक सुनिश्चित गरेको भए पनि व्यवहारमा अझै धेरै गर्न बाँकी छ। महिलामाथि हुने जुनसुकै हिंसा अपराध हो, त्यसलाई बेवास्ता गर्नु राष्ट्रको लाज हो। महिलामाथि हुने विभेद, हिंसा र अन्याय अन्त्य गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ।

महिलामाथिको हिंसा केवल एक व्यक्तिको समस्या होइन, यो सम्पूर्ण समाजको घाउ हो। जबसम्म महिला सुरक्षित, शिक्षित र समान अधिकार प्राप्त हुँदैनन्, तबसम्म देशको समग्र विकास सम्भव हुँदैन। त्यसैले चेतना, शिक्षा र कानुनी कार्यान्वयनलाई साथसाथ अघि बढाएर महिला हिंसा निर्मूल समाजको निर्माण गर्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार