
बाजुरा– बाजुराको दुर्गम स्वामीकार्तिक खापर गाउँपालिकामा शम्भुनाथ बहुमुखी क्याम्पस स्थापना गरिएको छ । लामो समयको प्रयासपछि गाउँपालिकाको केन्द्र वाईमा क्याम्पस स्थापना गरिएको हो ।
शम्भुनाथ बहुमुखी क्याम्पस स्थापना भएपछि स्वामीकार्तिक सहित दुर्गम गाउँका विद्यार्थीहरु गाउँमै उच्च शिक्षा अध्ययन गर्न पाइने भन्दै उत्साहित भएका छन् । स्वामिकार्तिक खापर गाउँपालिका लगायत समुदायको लामो समयको प्रयासपछि अहिले क्याम्पस स्थापना गरेर सञ्चालनमा ल्याइएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा स्थापना भएको शम्भुनाथ बहुमुखी क्याम्पसले हाल सो विश्वविद्यालयबाट अस्थायी स्वीकृति पाएको छ । विश्वविद्यालयको आंगिक क्याम्पसको मान्यता पाउने प्रक्रियामा रहेको जनाएको छ । हाल विभिन्न क्याम्पसहरु आर्थिक अभाव र विद्यार्थी संख्या घट्दै गएपछि बन्द हुने अवस्थामा पुगे पनि सरकार र समुदायको साथसपोट र सहयोगको अपेक्षा सहित स्थानीय तथा सरोकारवालाहरु क्याम्पस स्थापनामा लागेका हुन् । सहज र सुलभ रुपमा जिल्लाको मािथल्लो भेग तथा छिमेकी जिल्लाका विद्यार्थीहरुको उच्च शिक्षा आर्जन गर्न पाउने गरी शम्भुनाथ बहुमुखी क्याम्पस स्थापना गरी सञ्चालनमा ल्याइएको जनाएको छ ।
हाल पालिका र समुदायको सहयोगमा गाउँपालिकाको केन्द्र वाईमा रहेको स्वामीकार्तिक माध्यमिक विद्यालयबाट जनशक्ति व्यवस्थापन गरेर क्याम्पस सञ्चालनमा ल्याइएको सञ्चालक समितिले जनाएको छ । हाल उक्त क्याम्पस प्रमुखको जिम्मेवारी नहकुल जोशीलाई दिएको छ । क्याम्पस स्थापना भएसँगै यस शैक्षिक सत्रबाट नै अध्ययन अध्यापन सुरु गर्ने गरी शिक्षा संकायका लागि भर्ना आवेदन समेत खुला गरिएको जनाएको छ ।
क्याम्पस प्रमुख जोशीले बडीमालिका खबरसँग कुराकानी गर्दै समुदायको माग र प्रमुख आवश्यकता बमोजिम लामो समयदेखिको प्रयासपछि क्याम्पस स्थापना भएको बताएका छन् । उनले स्वामिकार्तिक माविसँग ५ बर्षका लागि सम्झौता गरेर क्याम्पस सञ्चालन गरिएको बताए । स्वामिकार्तिक माविको भवन तथा विद्यालयकै जनशक्ति प्रयोग गरेर क्याम्पस सञ्चालनमा ल्याएको बताएका छन् । हाल स्वामिकार्तिक माविमा ४ जना साविक उच्च र ५ जना मावि गरी ९ जनाको दरबन्दी रहेको छ । उक्त जनशक्ति शम्भुनाथ बहुमुखी क्याम्पसमा व्यवस्थापन गरेर अध्ययन अध्यापन सुरु गर्ने तयारी सञ्चालक समितिले गरेको छ ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष कर्णबिर बुढाले उच्च शिक्षा आर्जन गर्न बाजुराको माथिल्लो भेगका चार पालिका सहित छिमेकी हुम्ला, मुगु, कालिकोटका विद्यार्थीहरुको सहजताका लागि क्याम्पस सञ्चालनमा ल्याएको बताए । उनले भने, “ यसअघि कोल्टी, मार्तडी लगायत बाहिर कोठा लिएर पढ्न जानु पर्ने बाध्यता थियो, यसले अभिभावकलाई आर्थिक भार बढी हुन्थ्यो, अब आर्थिक भार कम हुने छ ।” त्यस्तै उनले यसअघि नजिकै क्याम्पस नभएकै कारण धेरै जसो विपन्न विद्यार्थीहरुले उच्च शिक्षाको अवसरबाट वञ्चित हुनुपर्ने बाध्यता भएपनि अव त्यसको अन्त्य भएको बताए ।
त्यस्तै, स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले शम्भुनाथ बहुमुखी क्याम्पस स्थापना भएर सञ्चालनमा आएसँगै याँहाका विद्यार्थीहरुले गाउँमै उच्च शिक्षा पढ्न पाउने बताए । उनले कक्षा १२ उत्तीर्ण गरेका तथा यसअघि विभिन्न कारणले उच्च शिक्षा पढन् नपाएका विद्यार्थीहरुलाई क्याम्पसमा आएर समयमै भर्ना गर्न पनि आग्रह गरेका छन् ।
हाल जिल्लाको पूर्वीउत्तरी भेगमा त्रिभुवन विश्वविद्यालयको आंगिक बुढीनन्दा क्याम्पस सञ्चालनमा रहेको छ । भने सदरमुकाम मार्तडीमा सुदूरपश्चिम विश्वविद्यालयको बाजुरा क्याम्पस र बुढीगंगामा बडीमालिका क्याम्पस सञ्चालनमा छन् ।
