शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • सेनाको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना ड्राफ्ट गरिँदै

सेनाको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना ड्राफ्ट गरिँदै

  • मङ्लबार, कार्तिक १९, २०८२
सेनाको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना ड्राफ्ट गरिँदै

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली सेनाको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना तयार गर्ने प्रक्रिया सुरु गरिएको छ । सेनाको सहायक रथीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सम्मिलित समिति बनेको छ । सो समितिले एकीकृत सुरक्षा योजनाको मस्यौदा तयार गर्नेछ ।

निर्वाचन सुरक्षा व्यवस्थापन कार्यविधि–२०७८ अनुसार सुरक्षा व्यवस्थापन सम्बन्धी काम सुरु भएको नेपाली सेनाका प्रवक्ता (सहायक रथी) राजाराम बस्नेतले रातोपाटीलाई बताए । उनले भने, ‘कार्यविधि अनुसार सुरक्षा व्यवस्थापन सम्बन्धी काम भइरहेको छ ।’

एकीकृत सुरक्षा योजनाको मस्यौदा तयार गर्नेगरी समिति गठन गर्नेबारे केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको थियो । सेनाका सहायक रथीको नेतृत्वमा बनेको समितिमा नेपाल प्रहरीका एसएसपी वसन्त रजौरे र सशस्त्र प्रहरी बलको कार्य विभागका एसएसपी राजेश उप्रेतीलाई प्रतिनिधिका रूपमा खटाइएको छ । राष्ट्रिय अनुसन्धान विभागबाट पनि प्रतिनिधित्व गराइएको छ ।

समितिले एकीकृत सुरक्षा योजनाको सम्पूर्ण खाका ड्राफ्ट गरेर केन्द्रीय सुरक्षा समितिमा पेस गर्नेछ । सो ड्राफ्ट केन्द्रीय सुरक्षा समितिबाट पारित भएपछि सोहीअनुसार निर्वाचनमा सुरक्षाकर्मी परिचालित हुनेछन् । निर्वाचनमा सेना, प्रहरी र सशस्त्र कुन कुन लेयरमा परिचालित गर्ने ? समन्वय कसरी गर्ने र कति जनशक्ति आवश्यक हुन्छ ? भन्नेबारे ड्राफ्ट तयार गरिने छ । मतदान केन्द्रको संवेदनशीलताको आधारमा सुरक्षाकर्मी परिचालन गर्नेबारे पनि सो समितिले खाका तयार गर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार