
काठमाडौं— नेकपा (एकीकृत समाजवादी) ले माओवादीसँग एकताको तयारी गरिरहँदा एमाले अध्यक्ष केपी ओलीले सबैलाई ‘आफ्नै घर फर्किन’ अपिल गरेका छन् ।
नेकपा एसको नाम नलिइकन सामाजिक सञ्जालमार्फत उनले यस्तो अपिल गरेका हुन् ।
ओलीले भनेका छन्, ‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता-कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईँहरूको पसिना र रगतले बनेको हो ।’
एमाले केवल एउटा राजनीतिक संगठन नभएर जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार भएको ओलीले बताएका छन् । यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेको उनको भनाइ छ ।
‘कसैले जेल यातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए,’ उनी लेख्छन्, ‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ । यस्तो बेला हामी मौन रहन सक्दैनौँ । राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ ।’
फेरि सबै काँधमा काँध मिलाएर अघि बढ्न ओलीको अपिल छ ।
उनले लेखेका छन्, ‘हामी एउटै परिवार हौँ । हाम्रो लक्ष्य स्पष्ट छ । समृद्ध नेपाल, सुखी नेपाली । म सबैमा आह्वान गर्न चाहन्छु । कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा । हाम्रो साझा सपना साकार पार्न । निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौँ ।’
