
टेक बहादुर बुढा—बाजुराको खप्तड छेडेदह गाउँपालिका १ तलगाउँमा एउटै परिवारका तीन भाइबहिनी उपचार अभावमा अलपत्र अवस्थामा रहेका छन् । तीनै भाइबहिनीको मुटुको समस्या रहेको छ, पैसा नहुँदा गाउँमै अलपत्र रहेको स्थानिय महाविर रावलले बताएका छन् ।
स्थानिय धना देबी रावलका दुई छोरा र एक छोरी लामो समय देखि मुटुको समस्या झेलिरहेका छन् । १९ बर्षकी राजिन्द्रा रावल, १५ बर्षिया देबेन्द्र रावल र ८ बर्षका हिरेन्द्र रावल मुटुका बिरामी रहेका छन् । जन्मेको केही महिना देखि तीनै भाइबहिनी मुटुको बिरामी भएपनि पैसा अभावमा उपचार गर्न नसकेको आमा धना देबी रावलले बताएकी छन् । चेकजाँचका लागि केही बर्ष पहिला भारतमा लगेपनि अप्रेसनका लागि लाखौ पैसा खर्च हुने भनेपछि उपचार नगरेर गाउँ फिर्ता भएका छन् ।
धनाका श्रीमान जया रावल भारतको दिल्लीमा ज्याला मजदुरी गर्न गएका छन् । १५ बर्षका देबेन्द्र रावललाई उनले भारतमा सँगै लगेका छन् । २ वटा बच्चा भने आमा धना देबी रावलसँग रहेका छन् । देबेन्द्र बिरामी छ, कमजोरी पनि छ, बुवासँग भारत गए, केही फलफुल खान पाउला भनेर श्रीमान सँग भारत पठाएको आमा धना देबी रावलले बताइन् ।
तीन छोराछोरीको चेकजाँच तथा रोग पत्ता लगाउन २ लाख भन्दा बढी खर्च भइसकेको छ । अहिले उपचार गर्न पैसा नभएर घरमै मरेपनि मर्छन भनेर घरमा राखेको धनाले बताईन् । काठमाडौ जान भाडा समेत छैन्, उपचार त टाढाको बिषय रहेको रुदै धनाले भनिन् । परिवारलाई दैनिक छाक टार्न समेत धौधौ हुने गरेको छ । भारतको दिल्लीमा चेकजाँच गर्दा तिनवटै बच्चाको अप्रेसन गर्न चिकित्सकले सुझाव दिएका थिए । अस्पतालले उपचारका लागि लाखौ पैसा जम्मा गर्न भनेको थियो । पैसा नभएपछि घर फिर्ता ल्याएर घरमै मुटुको रोग पालिरहेका स्थानिय महाविर रावलले बताएका छन् ।
बिरामी भएपछि तीनजना भाइबहिनी विद्यालय समेत नजाने गरेका छन् । हिडदा श्वास फुल्छ, कहिले काही सुनिने गर्छन्, हिडन सक्दैनन्, विद्यालय पठाउने मन थियो तर बिरामले जान सक्दैनन्, आमा धनाले बताईन् । उपचारका लागि धेरै ठाउँमा हारगुहार गर्दा कतैबाट पनि साथ सहयोग नपाएको परिवारले बताएको छ ।
गत बर्ष १९ बर्षकि राजिन्द्रा रावललाई गाउँपालिकाले उपचार गरिदिने भन्दै काठमाडौमा रहेको काठमाडौ मेडिकल कलेजमा लगेको थियो । मेडिकल कलेजले यहाँ उपचार नहुने भन्दै मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टर वा सहिद गंगलाल हृदयरोग केन्द्रमा उपचार गर्न सुझाव दिएको थियो । तर त्यहाँ उपचार गर्ने पैसा नहुँदा घर फिर्ता ल्याएको गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताएका छन् । थोरै पैसा लाग्ने भए पालिकाले सहयोग गर्ने थियो, लाखौ खर्च हुने भएकाले उपचार नभएको उनले बताए ।
लामो समयसम्म तिन छोराछोरीको उपचार गर्न नसक्दा समस्या परेकि आमा धनाले उपचार सहयोगका लागि सहयोगि दातालाई अपिल गरेकी छन् । कतैबाट सहयोग नपाए हेर्दा हेर्दै कलिला छोराछोरीको ज्यान जाने भयो, हामी गरिबलाइ कतै सुख छैन्, भाबुक हुदै भनिन् ।
