शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • ५ महिनापछि मार्तडी–कोल्टी बस सेवा पुनः सुचारु

५ महिनापछि मार्तडी–कोल्टी बस सेवा पुनः सुचारु

  • मङ्लबार, कार्तिक ५, २०८२
५ महिनापछि मार्तडी–कोल्टी बस सेवा पुनः सुचारु

बाजुरा– बाजुराको सदरमुकाम मार्तडी देखि पूर्वीउत्तरी भेगको कोल्टीसम्म मंगलवारबाट पुनः बस सेवा सुचारु भएको छ । बर्षात सुरु भएसँगै असारको पहिलो सातादेखि रोकिएको बस सेवा पुनः सुचारु भएको हो ।
बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले सडकखण्ड मर्मत आजबाट मार्तडीदेखि कोल्टीसम्म बस सेवा सुरु गरिएको जानकारी दिएका छन् । उनले बर्षातमा अवरुद्ध सडकखण्ड मर्मत गरेर पुनः बस सञ्चालन गरिएको बताए । सडकखण्ड मर्मत पछि अब नियमित बस सेवा सञ्चालन हुने र त्यस क्षेत्रका नागरिकहरुलाई यातायातमा सहजता हुने नगर प्रमुख बोहराले विश्वास व्यक्त गरेका छन् । उनका अनुसार मार्तडीबाट मंगलवार महाकाली यातायात प्रा.लीको बस कोल्टीका लागि छुटेको बताएका छन ।
यसअघि गत बर्षको पुसबाट सदरमुकाम मार्तडीबाट कोल्टीसम्म बस सेवा सुरु गरिएको थियो । जिल्लाको पुर्वीउत्तरी भेग कोल्टी क्षेत्रका चार वटा स्थानीय तहसँगै छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका स्थानीयहरुले पनि यहीँ बाटो भएर यात्रा गर्ने गरेका छन् ।
यस्तै, करिब ४ महिनादेखि अवरुद्ध मार्तडी कोल्टी सडकखण्डका विभिन्न ठाउँमा गएको पहिरो पन्छाएर यसअघि असोज दोस्रो सातादेखि नियमित यातायात सुचारु गरिएको थियो । बुढीनन्दा नगरपालिका, बडीमालिका नगरपालिका, जिल्ला प्रशासन कार्यालय बाजुरा र पूर्वाधार विकास कार्यालयको सहकार्यमा अवरुद्ध सडकखण्ड पुनः सुचारु गरिएको थियाे ।
त्यस्तै, मार्तडी देखि कोल्टीसम्म प्रतिव्यक्तिको एकतर्फी भाडा पाँच सय रुपैयाँ कायम गरिएको जनाएको छ । पुनः बस सेवा सुचारु भएसँगै महंगो भाडा तिरेर मार्तडी कोल्टीसम्मको कष्टपूर्ण यात्रा गरि रहेका पूर्वीउत्तरी भेगका नागरिकहरुलाई सहजता हुने भएको छ । बस सेवा सञ्चालनमा आएसँगै जिल्लाको उत्तरी भेगका नागरिकलाई सदरमुकाम सहित महेन्द्रनगर, धनगढी लगायतका ठाउँसम्म आवतजावत गर्न पनि सहयोग पुग्ने स्थानीयहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार