शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराबाट ५ सय कुईन्टल स्याउ निर्यात

बाजुराबाट ५ सय कुईन्टल स्याउ निर्यात

  • सोमवार, अशोज २७, २०८२
बाजुराबाट ५ सय कुईन्टल स्याउ निर्यात

बाजुरा– बाजुरा जिल्लाबाट यस वर्ष करिब ५ सय कुईन्टल स्याउ निर्यात गरिएको छ । किसानहरूले उत्पादन गरेको स्याउ जिल्लाबाहिरका बजारतर्फ निर्यात गरिएको हो । स्याउ उत्पादनका लागि सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरा प्रख्यात छ । यहाँ व्यावसायिक रूपमा स्याउ खेती हुने गरेको छ ।
बाजुराका उच्च पहाडी भेगहरू रसिलो र स्वादिलो स्याउका लागि प्रख्यात छन् तर उत्पादित स्याउलाई बजारसम्म लैजान सकस भए पनि जिल्ला बाहिर स्याउको माग बढ्दै गएको पाइन्छ । बारीमै स्याउको प्रतिकेजी १ सय देखी २ सय सम्म पर्ने गरेको छ । स्थानिय बजारमा २ सय देखी २ सय ५० प्रतिकेजी पर्ने गरेको पाइन्छ । सरदरमा बाजुराले यस आर्थिक बर्षमा ७५ लाख बराबरको स्याउ बिक्री गरेर आम्दानी गरेको देखीन्छ ।
जिल्लाको करिब ५०४ हेक्टर क्षेत्रफलमा स्याउका बगैँचा फैलिएको छ । जसमध्ये हाल २०८ हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेको छ । विशेषगरी स्वामीकार्तिक, जगन्नाथ र बुढीनन्दा जस्ता उच्च पहाडी क्षेत्रमा स्याउ खेती फस्टाएको छ । पछिल्लो समय किसानहरूमा आएको जागरुकता र स्थानीय तहहरूको सहयोगमा ‘हाइडेन्सिटी’ जातका स्याउका नयाँ बगैँचा पनि स्थापना भइरहेका छन् । हाल बाजुरामा करिब २ सय देखि २ सय ५० किसान व्यावसायिक रूपमा स्याउ खेतीमा संलग्न छन् । यहाँ उत्पादन भएको स्याउ बजारीकरण र ढुवानीमा भने निकै समस्या छ ।
यो सिजनमा हालसम्म ४०० देखि ५०० क्विन्टल स्याउ नेपालगञ्ज, धनगढी र सुर्खेतका बजारमा पठाइएको छ । बाजुरामा उत्पादित स्याउको सबैभन्दा ठुलो समस्या बजारीकरणको अभाव हो । स्याउ पाक्ने समय (भदौ–असोज) मा मनसुनी वर्षाका कारण ग्रामीण सडकहरू अवरुद्ध हुँदा किसानले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन कठिनाई हुने गरेको कृषकहरु बताउछन ।
स्याउ टिप्ने वेला र मनसुन एकै समयमा पर्दा किसानहरूले ठुलो क्षति बेहोर्नु परेको छ । बाटो नहुँदा कतिपय स्याउ बारीमै कुहिएर जान्छ भने कतिपय गाईवस्तुलाई खुवाउनुपर्ने बाध्यता छ ।

कृषि ज्ञान केन्द्र, बाजुराका कार्यालय प्रमुख जसिराम साहनीका अनुसार अपार सम्भावना बोकेको बाजुराको स्याउ खेतीले विभिन्न चुनौतीका कारण सोचे जस्तो आर्थिक लाभ दिन नसकेको बताउछन । बाजुराको स्याउलाई बजार पुर्‍याउन अनेक कठिनाइ रहेको उनको भनाई रहेको छ ।
दसैँ–तिहार जस्ता चाडपर्व र मौसम प्रतिकूलताले ढुवानीमा थप बाधा पुगेको स्थानीय कृषक बताउँछन् । कृषि ज्ञान केन्द्रले किसानहरूलाई राहत दिन प्याकेजिङ र ढुवानीमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको कार्यालय प्रमुख सहानीले बताए । यस कार्यक्रमअन्तर्गत प्रतिकिलो ढुवानी लागतको आधा रकम ज्ञान केन्द्रले र आधा किसानले बेहोर्ने गरेको उनको भनाई रहेको छ ।
सडकको पहुँच नै नभएका ठाउँमा यो अनुदान पनि प्रभावकारी हुन सकेको छैन । ढुवानी बाहेक स्याउको गुणस्तर कायम राख्नु अर्को ठुलो चुनौती हो । किसानहरूमा स्याउलाई ग्रेडिङ गर्ने (छुट्ट्याउने) ज्ञानको कमी छ । उनीहरूले राम्रो, नराम्रो, किरा लागेको र दाग भएको सबै स्याउ एकै ठाउँमा मिसाएर बेच्ने गर्छन्, जसले गर्दा राम्रो दानाको पनि उचित मूल्य पाइँदैन ।
‘एउटा नराम्रो स्याउले अरूलाई पनि बिगार्ने हुँदा भण्डारण र ढुवानीमा थप समस्या हुन्छ,’ साहनीले भने, ‘यदि किसानले स्याउलाई गुणस्तर अनुसार ए, बी, सी ग्रेडमा छुट्ट्याएर बेच्ने हो भने उनीहरूको आम्दानी दोब्बर हुन सक्छ ।’ उनका अनुसार, राम्रो गुणस्तरको स्याउ बजारमा बेच्ने र अलि कमजोर वा दाग लागेको स्याउलाई जुस, जाम, वाइन वा सुकुटीजस्ता प्रशोधित उत्पादन बनाउन प्रयोग गर्न सकिन्छ । तर, यसतर्फ किसानको ध्यान जान नसकेको साहनीले बताए ।
बाजुराको आर्थिक समृद्धिमा स्याउ खेतीले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भए पनि अहिले धेरै चुनौतीका कारण काम हुन नसकेको अवस्था छ । स्याउ उत्पादन हुने क्षेत्रसम्म बाह्रै मास चल्ने सडकको पहुँच सुनिश्चित गर्न सके यसले किसानलाई आफ्नो उत्पादन समयमै बजारमा पुर्‍याउन र उचित मूल्य पाउन मद्दत पुग्ने किसानहरुले बताउने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार