शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • प्रचण्डको घरबाट दुई करोड ओसारिएको हल्लाबारे सचिवालयले भन्यो- प्रमाण ल्याऊ !

प्रचण्डको घरबाट दुई करोड ओसारिएको हल्लाबारे सचिवालयले भन्यो- प्रमाण ल्याऊ !

  • आइतवार, अशोज २६, २०८२
प्रचण्डको घरबाट दुई करोड ओसारिएको हल्लाबारे सचिवालयले भन्यो- प्रमाण ल्याऊ !

काठमाडौं — नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरबाट जेनजी आन्दोलनअघि दुई करोड रूपैयाँ पैसा ओसारिएको चर्चा व्यापक बनेपछि सचिवालयले खण्डन गरेको छ । उक्त चर्चाको प्रमाण ल्याउन प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले चुनौती दिएका छन् ।

केही दिनअघि नेपाल प्रहरीका पूर्वएआइजी देवेन्द्र सुवेदीले एक अन्तरवार्तामा प्रचण्डको घरबाट जेनजी आन्दोलनको दुई दिनअघि पैसा ओसारिएको दाबी गरेका थिए । दुई वटा ट्रकमा हालेर दुई करोड निकालिएको उनको दाबी सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सचिवालयले भने यसलाई ‘तथ्यहीन, नियोजित र चरित्रहत्या गर्ने प्रकृतिको’ भएको बताएको छ ।

आचार्यले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘संकटको आजको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले गरिएका यस्ता तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीको प्रवाहप्रति हामी खेद प्रकट गर्दै कडा शब्दमा भर्त्सना गर्दछौं ।’

विज्ञप्तिमा सञ्चार माध्यम र पत्रकारहरूलाई संविधान, कानून र पत्रकार आचारसंहिता अनुसार तथ्य र स्रोतको विश्वसनीयता सुनिश्चित गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी र नेतृत्वविरुद्ध प्रवाह भएका पछिल्ला केही सामग्रीहरूमा कानुनी र नैतिक मापदण्डको अवमूल्यन गरी एकतर्फी, पूर्वाग्रही, उत्तेजनापूर्ण र असत्य विवरण प्रस्तुत गरिएको स्पष्ट देखिन्छ, जुन आपत्तिजनक छ ।’

प्रचण्डको घरमा सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको तथा प्रचण्डलाई दिइएका ८ सुरक्षाकर्मीलाई गंगा दाहालको घरमा खटाइएको पनि सचिवालयले अस्वीकार गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार