
हेर्दा लाग्छ नक्सा देशको
हिमाल, पहाड, तराईको सिँगारमा
रगतको रेखा छ अझै पनि
शान्तिको निलो आकाशमा
बनेको छ कालो धुवाँसरी
वर्षात् नहुँदा पनि आँसु वर्षिरहेछ
हिजो अधिकारका लागि क्रान्ति
आज आन्दोलन अधिकार भन्दै
ढुङ्गा र लाठीले बन्द गराइरहेछ
आगोले घर जलाइरहेछ
बन्दुकले मुना भाँचिरहेछ
सडक र साँघुरो कोठामा
पसिना र साहसको सन्धिमा टाँसिएर
भोलिको लागि बाँच्न
डर लागिरहेछ ।
फेरि पनि युद्धको संकेत हो कि?
कसैको मौनता
षड्यन्त्रको जाल ?
संविधानमा त लेखिएको छैन
तर,
टाँसिएको छ डर
हरेक नागरिकको हृदयमा ।
फेरि पनि इसाराको प्रयोगले
सपना देखाइदैछ
सत्य बोल्न खोज्दा
आवाज दबाइदैछ
र त, डर लागिरहेछ ।
न आफ्नै सासबाट
न आफ्नै बासबाट
सुरुवात के भएको छ र?
न गौरव
आत्मामा मानवताको
शृङ्खलाले बाँधिएको
सत्य भुलेका छन्
आफ्नै माटोको छायाँमा
साँचो हृदयको ज्योति
कति समय निभी
अन्धकार हुन्छ
इमानी र विवेकीले
देखेनन् कहिल्यै
देशको उज्ज्वल भविष्यको स्वप्न
त्यसैले,
अझै डर लागिरहेछ ।
