
नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा प्रचलित लोकगीत देउडा हाम्रो सांस्कृतिक पहिचानको अभिन्न अंश हो। यसलाई देउडा गीत, देउडा भाषाका गीत, लोकगीत, मागल गीत, ठाढी भाका लगायत विभिन्न नामले चिनिन्छ। देउडा भाषाका गीत विशेष गरी सुदूरपश्चिमका जिल्लाहरू—बैतडी, अछाम, बाजुरा, बझाङ, दार्चुला, डोटी, डडेल्धुरा—मा प्रचलित छन्। त्यस्तै, कर्णाली प्रदेशका कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, दैलेख र जाजरकोट जिल्लामा पनि देउडा गीत मुख्य रूपमा गाइन्छ। लुम्बिनी प्रदेशका केही क्षेत्रहरूमा पनि यसको प्रभाव देखिन्छ।
देउडा गीतको उत्पत्ति खस भाषिकाको सभ्यतासँगै भएको अनुमान गरिएको छ। यो केवल मनोरञ्जनको साधन मात्र नभई, सामाजिक एकता, सामुदायिक मेलमिलाप र सांस्कृतिक पहिचानको प्रतीक पनि हो। पहिले गाउँलेहरूले पर्व, चाडपर्व, विवाह र अन्य सामाजिक अवसरहरूमा देउडा गीत गाएर समय बिताउने र समुदायलाई एकसाथ बाँध्ने गरेका थिए। देउडामा प्रयोग हुने शब्द, भाव र नृत्य शैलीले स्थानीय जीवनशैली, सामाजिक मूल्य र संस्कृतिलाई प्रतिनिधित्व गर्दछ।
तर पछिल्लो समय देउडा संस्कृतिलाई बितृष्णा र अपहेलना गर्ने प्रवृत्ति बढ्दो छ। यसको प्रमुख कारण आधुनिक प्रविधि हो। मोबाइल, रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल र डिजिटल मनोरञ्जनले युवाहरूको ध्यान वैदेशिक र आधुनिक संगीत तर्फ आकर्षित गरेको छ। पहिले आफ्नै समुदायमा गुनगुनाइने देउडा गीत अब केवल सुन्ने अभ्यासमा सीमित भएको छ।
युवाहरूले पश्चिमी साहित्य, संगीत र संस्कृतितर्फ झुकाव बढाएपछि आफ्नो कला र सांस्कृतिक पहिचान जोगाउन असक्षम छन्। वृद्ध पुस्ताले मात्र देउडा संरक्षण गर्न सक्दैनन्, त्यसैले युवा सहभागिता अपरिहार्य छ। यदि समयमै संरक्षणका उपाय नअपनाइयो भने, देउडा संस्कृति लोपोन्मुख बन्ने खतरा बढ्दो छ।
नेपाल देउडा संस्कृति संरक्षण समिति
पश्चिम नेपालको देउडा संस्कृति संरक्षणका लागि युवाहरूले सामाजिक संस्था स्थापना गर्न आवश्यक ठाने। त्यसैअनुरूप नेपाल देउडा संस्कृति संरक्षण समिति २०८१ सालमा जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता भई हाल हिमाली गाउँपालिका वडा नं. ६, धुलाचौरमा प्रधान कार्यालय राखेर सक्रिय रूपमा काम गर्दै आएको छ।
समितिले स्थानिय चाडपर्व, मेला, महोत्सव, देउडा संस्कृति, भाषा, भेषभुषा, बाजा र परम्परागत चालचलनहरूको संरक्षण र प्रवर्द्धनमा काम गर्दै आएको छ। यसले सचेततामूलक कार्यक्रम सञ्चालन, कला र संस्कृतिको प्रचार–प्रसार, प्रतियोगिता र कार्यशालाहरू आयोजना गर्दै आएको छ। साथै, देउडा संस्कृति संरक्षणमा योगदान दिने व्यक्तिहरूलाई सम्मान र प्रोत्साहन पनि प्रदान गर्दै आएको छ।
समितिले नेपाल सरकारको कानुनअनुसार सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी कार्य गर्दै आएको छ। हिमाली गाउँपालिकाभित्र विभिन्न वडामा मेला, पर्व र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।
हाल समिति आफ्नै स्रोतबाट अध्यक्ष श्री दीपचन्द्र उपाध्यायको सहयोगमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। समितिमा ९ सदस्यीय कार्यसमिति र ३३ सदस्यीय सल्लाहकार समिति रहेको छ। प्रमुख संयोजक मंगल बहादुर मल्ल, वरिष्ठ संयोजक कपुर अधिकारी रहेका छन्।
समितिले देउडा, श्रीपञ्चमी, रोपाइँ, मागल गीत, मागल नृत्य, छैट, मुज्यारा खेल, बोलोमाग्ने खेल, ढाल खेल, हुड्क्याउली नृत्य, ढोल–दमाया, पञ्चेबाजा, भोटेसेलो, महिला–पुरुष देउडा, चम्पानाच, मयुर नाच, हरिण नाच लगायत विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साथै, लोकगीत तथा नृत्य प्रतियोगिता पनि आयोजना हुँदै आएको छ।
स्थानीय सरकार र सरोकारवालाको सहयोग भएमा हिमाली गाउँपालिकामा देउडा संस्कृति संरक्षण र प्रवर्द्धनमा अझ ठोस कदम चाल्न सकिने देखिन्छ। त्यसैले समुदाय, संस्था र स्थानीय निकायको सक्रिय सहयोग आवश्यक छ।
देउडा संस्कृति केवल मनोरञ्जनको माध्यम मात्र होइन, हाम्रो पहिचान र इतिहासको अभिन्न अंश हो। यसको संरक्षण, प्रवर्द्धन र आगामी पुस्तासम्म पुर्याउन समुदाय, संस्था र युवाहरूको सक्रिय सहभागिता अपरिहार्य छ। यदि समयमै यसको संरक्षणका उपाय नअपनाइयो भने, सुदूरपश्चिम र कर्णालीको सांस्कृतिक पहिचानमा ठूलो रिक्तता देखा पर्ने निश्चित छ।
