
बाजुरा—जिल्ला अस्पताल बाजुरामा कार्यरत करार कर्मचारीहरुले तत्काल चाडपर्व भत्ता पाउनु पर्ने माग गरेका छन् । बिहीवार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्कालाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् ।
जिल्ला अस्पतालमा कार्यरत सम्पूर्ण करार कर्मचारीहरुले चाडपर्व भत्ता तत्काल उपलब्ध गराउन माग गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलमार्फत मन्त्री खड्कालाई ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्रमा भनिएको छ, “नेपाल श्रम ऐन २०७४, नियमावली २०७५ र सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन २०७६ दफा ८२ मा करार सेवाका कर्मचारीहरुलाई पनि चाडपर्व भत्ता पाउने हक हुन्छ भन्ने स्पष्ट छ, र विगतका बर्षहरुमा चाडपर्व भत्ता प्रदान गर्दै आएको थियो । तर यस आर्थिक बर्ष २०८२।०८३ मा करार कर्मचारीहरुलाई चाडपर्व भत्ता उपलब्ध गरिएको छैन ।”
त्यस्तै, जिल्ला अस्पतालका कर्मचारीहरु लेखराज पाण्डेले आफूहरुमा ठूलो निराशा, असमान व्यवहारको अनुभूति भएको भन्दै यो अन्यापूर्ण र विद्यमान श्रम ऐन विपरित भएको बताए । उनले समान काम गर्ने स्थायी कर्मचारीहरुले पाउने सुविधा तत्काल करार सेवाका कर्मचारीहरुले पनि पाउनु पर्ने माग राखेका छन् ।
त्यसैगरी, अस्पतालका करार कर्मचारीहरुले चाडपर्व भत्ता तत्काल उपलब्ध गराएर कर्मचारीमैत्री वातावरण गर्न पनि प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै सिडिओ पौडेलले कर्मचारीहरुको माग सम्बोधनका लागि सम्बन्धित निकायमा पहल गर्ने बताएका छन् ।
