
बाजुरा– बाजुराका तीन राजनीतिक दलहरुले संयुक्त रुपमा संविधान दिवस मनाएका छन् । शुक्रवार जिल्ला सदरमुकाम मार्तडीमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा संविधान दिवस मनाएका हुन् ।
संविधानको दिवसमा नारा जुलुससहित मार्तडी बजार र्यालीपछि लोकतान्त्रिक चोकमा औपचारिक कार्यक्रम गरी दिवस मनाएको हो । संविधान दिवस कार्यक्रममा बोल्दै पार्टीका शीर्ष नेताहरुले नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त संविधानमाथि प्रहार हुने प्रयास भएको भन्दै सबैले एकजुट हुनु पर्नेमा जोड दिएका छन् । त्यस्तै सबै पार्टीमा नेतृत्वले विभिन्न कमी कमजोरी गरेको भन्दै अब सच्चिएर जनताकाविच जानुको विकल्प नभएको निष्कर्ष निकालेका छन् ।
संविधान दिवस २०८२ काे अवसरमा बाजुरामा विभिन्न दलका नेताहरू एकै मञ्चमा उभिएर संविधानको रक्षा र कार्यान्वयनका सवालमा एक स्वरमा देखिए । ‘संविधानको पूर्ण कार्यान्वयन, राष्ट्रिय गौरव र हाम्रो पहिचान’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा प्रमुख दलका प्रतिनिधिहरूले संविधानलाई व्यवहारमा उतार्न आवश्यक राजनीतिक इच्छाशक्तिमा अझै कमी रहेको स्वीकार गर्दै त्यसतर्फ गम्भीर ध्यान दिनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाली कांग्रेस बाजुराका सभापति रामसिंह रावलले संविधानले मुलुकका सबै नागरिकलाई समान अधिकारको ग्यारेन्टी गरेको भए पनि व्यवहारमा अझै चुनौती रहेको बताएका छन । उनका अनुसार राजनीतिक दलहरूको आपसी अविश्वास र सत्ता–प्रतिस्पर्धाले संविधानका प्रावधानहरू कार्यान्वयनमा ढिलाइ भइरहेको बताए । “संविधानलाई केवल कागजमा मात्र होइन, व्यवहारमै लागू गर्नेतर्फ दलहरू गम्भीर हुनुपर्छ,“ रावलले बताए ।
त्यसै गरि नेकपा (एमाले) बाजुराका उपाध्यक्ष जनककुमार बोहराले संविधान मुलुकलाई स्थायित्व र विकासतर्फ डोर्याउने ऐतिहासिक दस्तावेज भएको बताए । उनले दलहरूबीच विचार भिन्नता भए पनि संविधान कार्यान्वयनका सवालमा साझा प्रतिवद्धता आवश्यक रहेको भन्दै, “हाम्रो प्राथमिकता दलगत स्वार्थ होइन, संविधान अनुसार देशलाई अघि बढाउनु हो,“ भन्ने टिप्पणी गरेका छन ।
नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडुवालले संविधान कार्यान्वयनको जिम्मा केवल सरकार वा राजनीतिक दलहरूमै सीमित नभई नागरिक समाज, स्थानीय तह र सम्पूर्ण नागरिकले निर्वाह गर्नुपर्ने दायित्व भएको बताएका छन । उनले राज्यका विभिन्न अंगबीचको असमझदारीले संविधानका अधिकार कार्यान्वयनमा चुनौती थपिरहेको बताए ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) बाजुराका अध्यक्ष पुर रावतले संविधानलाई कमजोर बनाउन खोज्ने शक्ति अझै सक्रिय रहेको चेतावनी दिएका छन । उनले संविधानको संरक्षण र रक्षा दलहरूको साझा जिम्मेवारी भएको भन्दै “संविधानलाई खतरामा पार्ने जो कोही भए पनि प्रतिरोध गर्न राजनीतिक दल एकजुट हुनुपर्छ,“ भने । कार्यक्रममा दलका नेताहरूले संविधानको रक्षा र कार्यान्वयनलाई साझा एजेण्डा बनाए पनि व्यवहारमा त्यो प्रतिबद्धता कत्तिको कार्यान्वयन हुन्छ भन्ने प्रश्न यथावत रहेको रावतको दावी छ ।
बाजुरा सदरमुकाम मार्तडीमा सम्पन्न संविधान दिवस विशेष संविधान कार्यान्वयनका सवालमा दलहरूले भाषण गर्ने तर व्यवहारमा सत्ता–राजनीति र आ–आफ्ना स्वार्थलाई प्राथमिकता दिने प्रवृत्ति विगत वर्षहरूमा देखिएको तथ्य हो । संविधानले दिएको अधिकार अझै पनि ग्रामीण भेगका नागरिकले महसुस गर्न सकेका छैनन् । शिक्षा, स्वास्थ्य, रोजगार र न्यायमा समान पहुँच पुर्याउने कुरा अझै चुनौती बनेको छ । दलहरूले संविधान दिवसमा व्यक्त गरेका प्रतिबद्धता यतिबेला मात्र सिमित नहुने हो भने संविधानलाई बलियो बनाउने मार्ग प्रशस्त हुन सक्छ । तर, यदि दलहरूले यथास्थितिवादी राजनीति दोहोर्याए भने संविधानप्रति नागरिकको विश्वास कमजोर हुँदै जाने खतरा उत्तिकै रहन्छ । यसरी संविधान दिवसका अवसरमा दलका नेताहरू एकै मञ्चमा देखिनु सकारात्मक सन्देश भए पनि अब उनीहरूको जिम्मेवारी शब्दलाई कार्यमा रूपान्तरण गर्नेमा केन्द्रित हुनु पर्दछ ।
