
बाजुरा—बाजुरा जिल्ला कारागारबाट १९ जना कैदीलाई स्थानान्तरण गरिएको छ । जिल्ला कारागारबाट १९ कैदीहरुलाई बाँके स्थित क्षेत्रिय नौवस्ता कारागारमा स्थानान्तरण गरिएको हो । जिल्ला कारागार प्रमुख जेलर अनिलकुमार तिवारीले कारागारको नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया समेत भइसकेकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्न थालिएको बताए ।
उनले पहिलो चरणमा १९ कैदीलाई नौवस्ता कारागार स्थानान्तरण गरिएको बताए । त्यस्तै अन्य बाँकी सबै कैदीबन्दीहरुलाई दसैँ अगाडि नै स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन् । जेलर तिवारीले जिल्ला कारागारका कैदीलाई नौवस्तामा र थुनुवालाई अछाम जिल्ला कारागार सार्ने प्रक्रिया भइरहेको बताए । दसैँ अगाडि नै सबै कैदीबन्दीहरुलाई स्थानान्तरण गरेर दसैँ लगत्तै भवन शिलान्यास गरी निर्माण कार्य अगाडि बढाइने कारागार प्रशासनले जनाएको छ ।
जिल्ला कारागारको भवन जीर्ण भन्दै गएपछि नयाँ सुविधा सम्पन्न महिला पुरुष दुवैका लागि ७५ जना कैदीबन्दी बस्ने क्षमता भएको भवन निर्माण हुने भएको छ । भवन निर्माणका लागि ठेक्का सम्झौता पनि भइसकेको छ । जिल्ला कारागारको नयाँ भवन निर्माणका लागि यहीँ भदौ १९ गते ५ करोड ९८ लाख ४८ हजार ४ सय ९८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । उक्त भवन निर्माणको जिम्मा डिबी बिएन एस जेभीले लिएको छ । २०८३ फागुन ३० गतेसम्म कारागारको भवन निर्माण कार्य सम्पन्न गरी सक्ने गरी जेभीले सघन शहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीसँग ठेक्का सम्झौता गरेको बताइएको छ ।
हाल २५ जना कैदीबन्दीका लागि २०३७ सालमा बनेको जिल्ला कारागार जीर्ण भवनमा दोब्बर बढी कैदीबन्दी राख्नु पर्ने बाध्यता रहेको छ । अब कारागारको सुविधा सम्पन्न भवन बन्ने भएपछि सुरक्षासँगै कैदीबन्दीहरुलाई पनि निकै सहजता हुने कारागारले जनाएको छ ।
