
बाजुरा—सोमवार अर्थात भोलिदेखि बाजुरा सहित देशभर सरकारी सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा आउने भएको छ । सरकारले दसैं तिहार लक्षित देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो ।
बाजुराको सदरमुकाम मार्तडी र कोल्टीमा सुपथ मूल्य पसल सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख उमेश भण्डारीका अनुसार जिल्लाका स्थायी शाखा कार्यालयबाट सुपथ मूल्य पसल सञ्चालनमा आउने भएका हुन् । उनले मार्तडी र कोल्टी शाखाबाट चामल र चिनी सहुलियत मुल्यमा बिक्रीवितरण हुने जानकारी दिएका छन् । सुपथ मुल्य पसल सञ्चालन भएसँगै चामल र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइने छ । हाल जिल्लाका दुवै शाखा कार्यालयबाट मोटा चालम प्रतिकेजी ६२ र स्टिम ९० रुपैयाँ बिक्रीवितरण भइरहेको छ । त्यस्तै चिनी एक सय ५ रुपैयाँमा बिक्री भइरहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ भदौमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।
तर, २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका कारण देशभरि ७२ जनाको मृत्यु र सरकारीसँगै निजी उद्यम–व्यवसायमा तोडफोड, लुटपाट र आगजनी भएपछि सरकारले सञ्चालन गर्न लागेको सहुलियत पसल सञ्चालनमा नआउने हो कि भनेर उपभोक्तामा अन्योल छाएको थियो । तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तोकिएकै मिति अर्थात् भोलिदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा आउने जानकारी दिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १ सय ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने छ ।
