शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • बाजुरामा प्रमुख दलहरुद्धारा लोकतन्त्रको रक्षा र सुशासनको माग

बाजुरामा प्रमुख दलहरुद्धारा लोकतन्त्रको रक्षा र सुशासनको माग

  • शुक्रबार, भदौ २७, २०८२
बाजुरामा प्रमुख दलहरुद्धारा लोकतन्त्रको रक्षा र सुशासनको माग

बाजुरा– देशमा बढ्दो राजनीतिक जटिलता, बेरोजगारी, भ्रष्टाचार, सुशासनको अभाव र विदेशी हस्तक्षेपका कारण राष्ट्रिय सार्वभौमिकता नै प्रश्न चिन्हमा परेको भन्दै बाजुराका प्रमुख चार राजनीतिक दलहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बाजुराले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्दै अहिलेको अवस्थाबाट निस्कन दलहरूबीच साझा समझदारी र युवा पुस्तासँगको संवाद अपरिहार्य भएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा पछिल्ला दिनमा तीव्र बन्दै गएको जेन जेट आन्दोलनलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता औंल्याइएको छ । युवापुस्तामा बढ्दो निराशा र देशमा बढ्दो असमानता, अन्याय र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिनु स्वाभाविक भएको भन्दै दलहरूले आन्दोलनमा सहानुभूति प्रकट गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “आन्दोलनमा परी ज्यान गुमाएकाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्दछौं। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।”
चारै दल पाली काँग्रेसका उपसभापती पदम बडुवाल, नेकपा (एमाले) जिल्ला कमिटि सदस्य जंग विक, नेकपा (माओवादी केन्द्र)का संयोजक देविचन्द बुढा र नेकपा (एकीकृत समाजवादी) बाजुराका दिर्घराज पाध्यायको हस्ताक्षेरित बिज्ञप्तीमा जिल्ला नेतृत्वले आफ्ना विगतका कमजोरीलाई आत्मसात् गर्दै आत्मआलोचना गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, लोकतान्त्रिक संस्थाहरूलाई अझ सबल बनाउन र दलहरूलाई आन्तरिक सुधारतर्फ उन्मुख गराउन केन्द्रिय नेतृत्वलाई आह्वान गरिएको छ।
संयुक्त प्रेस विज्ञप्तिमा ६ बुँदे मागसमेत सार्वजनिक गरिएको छ :

१. लोकतन्त्रको रक्षा सबैले गर्ने साझा दायित्व हो।
२. संविधानको मर्म र मूल्य मिच्न नपाई जेन जेट आन्दोलनले उठाएका मुद्दालाई संस्थागत गर्नुपर्छ।
३. देशलाई विपत्तिबाट निकाल्न दलहरूबीच साझा समझदारी कायम गरी सामूहिक रूपमा अघि बढ्नुपर्छ।
४. सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र कानुनी शासनलाई प्राथमिकतामा राख्नुपर्छ।
५. राजनीतिक दल र जेन जेट आन्दोलनबीच संवाद, छलफल र सहमति गरेर लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्नुपर्छ।
६. संविधानिक प्रक्रिया मार्फत यथाशीघ्र नयाँ सरकार गठन गरी हालको अनिश्चिततालाई अन्त्य गर्नुपर्छ।
विज्ञप्तिमा लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयनमा कुनै सम्झौता हुन नसक्ने स्पष्ट सन्देश दिइएको छ । साथै, दलहरूले अहिलेको अवस्थालाई अवसरका रूपमा प्रयोग गर्दै युवापुस्ताको विश्वास जित्नुपर्ने उल्लेख गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, लामो समयदेखि एक अर्काको विरोधमा उभिँदै आएका चार ठूला दलहरूको बाजुरामा जारी भएको यो संयुक्त विज्ञप्ति महत्वपूर्ण मानिएको छ । यसले दलहरूबीच संवाद र सहकार्यको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
सामाजिक वृतमा पनि दलहरूको यो कदमलाई सकारात्मक रूपमा लिइएको छ । स्थानीय युवाहरूले जेन जेट आन्दोलनलाई समर्थन गर्दै आएका बेला दलहरूले आन्दोलनप्रति सहानुभूति जनाउनु र सुशासनको साझा प्रतिवद्धता जनाउनु देशलाई निकास दिनुपर्ने राजनितिक दलहरुको निर्ष्कष रहेको छ ।
संयुक्त विज्ञप्तिमा दलहरूले अघिल्लो जनआन्दोलनले स्थापित गरेको संविधान र लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गर्दै देशलाई स्थायित्व र विकासतर्फ अघि बढाउन सबै दल र युवापुस्ताको साझा सहकार्य अपरिहार्य भएको निष्कर्ष निकालेका छन्।
No description available.

चर्चामा

सम्बन्धित समाचार