
बाजुरा—देश र संविधान रक्षाका लागि बाजुरामा मौन प्रदर्शन गरिएको छ । शुक्रवार नेपाल पत्रकार महासंघ बाजुरा र नेपाल बार एसोसिएसनले सदरमुकाम मार्तडीमा मौन प्रदर्शन गरेको हो ।
यहीँ २३ र २४ गते जेनजी युवा समूहहरुको आन्दोलन पछिका विभिन्न घटनाले देश र संविधानमाथि प्रहारको प्रयास भइरहेको भन्दै प्रदर्शन गरेका हुन् । जिल्ला सदरमुकाम मार्तडी स्थित लोकतान्त्रिक चोकमा नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकार तथा नेपाल बार एसोसिएसन जिल्ला अध्यक्ष पुर बहादुर रावत सहित अधिवक्ताहरुको सहभागीतामा शान्तिपूर्ण मौन प्रदर्शन गरेको छ ।
नेपाल पत्रकार महासंघ र नेपाल बार एसोसिएसनले “ राष्ट्र बचाऔं, संविधानको रक्षा गरौ” लेखिएको प्लेकार्ड र नेपालको संविधान २०७२ को पुस्तकसहित शान्तिपूर्ण मौन प्रदर्शन गरेको जनाएको छ । त्यस्तै, मुलुकको अवस्था परिवर्तनका लागि जेनजीहरुको आन्दोलन सही भएपनि त्यसपछिका घटनाबाट व्यवस्था नै धरापमा पर्न थालेको महशुस भएको ठहर गरेको छ ।
