
भ्रष्टाचार विरुद्ध जन्मेका
कलिला मुना निमोठी
फक्रिने जीवन समाप्तिसँगै
मातृभूमिलाई तहसनहसमा पुर्याउदै
आमाको काख रित्तो पारिएपछि
शहर नउठ्दै
धुवाँले आकाश ओढेको त्यो बिहान
कहिल्यै नझुक्ने त्यो भवन
बसेको छ खरानीमा आज
हराएका छन् लाखौँ प्रमाण
चिन्नै गाह्रो छ न्यायको ढोका
थुनिएको छ जनताको आवाज
उडेको छ धुवाँसँगै
मौनता,उदासीनता
र सोध्न नसकिने प्रश्न
किन बाँचिरहेका छौँ हामी?
यदि
सुन्ने कोही छैन भने?
उठेका ती हातहरू
रित्तो र खाली थिए
तर
केहिमा भ्रष्टाचार विरुद्धको आवाज त
केहिमा वर्षौँदेखि संचित भएको रिस
कसैले जलाउनेबाट
कसैले नाराबाट
कसैले क्रान्तिको नामबाट
लम्मेका र चम्केकाले
त्यो आगोलाई
कसैले हिंसा
कसैले क्रान्ति
कसैले परिवर्तन भनिरहे
तर,
जो साक्षी थिए
उसका लागि यो केवल आगो थिएन
थियो ? त सङ्केत
पुरानै रूपमा फर्किने छैनन्
अब जनता ? कहिल्यै ।
त्यो आगोमा
भवन मात्रै भत्किएन
त्यो संगै भत्किएको छ
झूटको खेती
सत्ता मोहको महत्त्वाकांक्षा
र जनताको पीडामा निर्मोही अनुहार
केहि समयमा
शहर उज्यालो देखिएला
धुवाँ हट्दै जाला
तर,
नयाँ प्रश्नहरू बगिरहेका छन्
त्यस उज्यालोमा
के हुन्छ अब?
निमोठिएका मुना पलाउँछन् त?
कसले पुनर्निर्माण गर्छ?
साच्चै परिवर्तन भयो त?
आगो जलाइले क्रान्ति सफल भयो त?
छैन त्यसको उत्तर अहिले
एउटा कुरा निश्चित छ
आँखा खुलिसकेको छ अब
चिर्छ भविष्य त्यो आँखाले
दयाको अपेक्षा बिना
जलिरहेको मातृभूमिको आर्तनादले
हराभरा पार्ने सच्चा सपूत
खोजिरहेछ यतिबेला ।
