
बाजुरा—बाजुरा जिल्ला कारागार सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । यतिबेला देशका विभिन्न कारागारबाट कैदीबन्दीहरु भाग्न थालेपछि सुरक्षाकर्मीले रातिदेखि जिल्ला कारागारलाई पनि नियन्त्रणमा लिएको हो ।
मंगलवार राति मार्तडी बजारबाट निस्किएको समूह नाराबाजीसहित कारागार पुगेपछि कैदीबन्दीहरुले समेत भाग्ने प्रयास गरेका थिए । उनीहरुले कारागारभित्र आगजनी र ढुंगामुडाका साथै कारागारभित्रबाट पर्खाल भत्काएर निस्किन खोजेका थिए । तर सुरक्षाकर्मीले तत्काल अश्रु ग्याँस प्रहार गरेर कारागार घेराउ गरेपछि उनीहरु भाग्न सकेनन् । त्यस्तै कैदीबन्दीहरुले भित्रबाट गरेको ढुंगामुडाले कारागारको गाडीमा क्षति भएको छ ।
हालसम्म कुनै पनि कैदीबन्दीहरु भाग्न सकेका छैनन् । हिजो रातिदेखि कारागारलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । अहिले ठूलो संख्यामा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना कारागारमा खटिएको छ ।
हिजो राति कैदीबन्दीहरुले भत्काएको पर्खाल अहिले मर्मत गरिएको कारागार प्रशासनले जनाएको छ । त्यस्तै कारागार प्रशासनले कैदीबन्दीहरुलाई संयमता अपनाउन आग्रह गरेको छ ।
सोमबार र मंगलबार भएको जेनजीहरूको प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरू भागिरहेका छन् । विभिन्न कारागारका कैदीहरूले आगजनी समेत गरिरहेका छन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा बाजुरा बाहेक अन्य जिल्ला कारागारका केही कैदीबन्दीहरु भागेको जनाएको छ । त्यस्तै, डडेल्धुरा, बझाङ सहितका जिल्ला कारागारबाट भागेका कैदीबन्दीहरुलाई सुरक्षाकर्मीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।
त्यसैगरी, यतिखेर देशभर निषेधाज्ञा जारी गरेपछि सदरमुकाम मार्तडी पनि सुनासान बनेको छ । बजारमा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गरिएको छ भने सबै पसलहरु बन्द छन् ।
जिल्ला प्रशासन कार्यालय बाजुराले पनि एक सूचना जारी गर्दै आज बिहान ११ बजेदेखि कफ्र्यु आदेश जारी गरेको छ । अर्को आदेश जारी नभएसम्म सदरमुकाम मार्तडी क्षेत्रमा कुनै पनि जुलुश, प्रदर्शन, सभा, बैठक गर्न रोक लगाउने गरी कफ्र्यु लगाइएको हो ।
