बिहिबार, मंसिर २६, २०८२
  • होमपेज
  • समाचार
  • जेनजी आन्दोलन: काहुरास्ट नेपालद्वारा सरकारलाई ध्यानाकर्षण

जेनजी आन्दोलन: काहुरास्ट नेपालद्वारा सरकारलाई ध्यानाकर्षण

  • सोमवार, भदौ २३, २०८२
जेनजी आन्दोलन: काहुरास्ट नेपालद्वारा सरकारलाई ध्यानाकर्षण

काठमाडौँ– पछिल्लो पुस्ता जेनजीले सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध सुरु गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा राजधानीसहित विभिन्न ठाउँमा तनावग्रस्त घटना भई मृत्यु, सयौँ घाइते तथा भौतिक क्षति भएकोप्रति मानवअधिकार तथा सामाजिक रूपान्तरण अभियान नेपाल (काहुरास्ट नेपाल) ले गम्भीर ध्यानाकर्षण गराएको छ।
काहुरास्ट नेपालद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा भदौ २३ गते माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म गरिएको विरोध प्रदर्शनका क्रममा प्रशासन र आन्दोलनकारी दुवै पक्ष संयमित रहन नसक्दा घटनाले उग्र रूप लिँदै दुखद् निधन, सयौँ घाइते तथा संरचनागत क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको उल्लेख छ।
विज्ञप्ति अनुसार, मुलुकमा बढ्दो बेथिति र भ्रष्टाचार नियन्त्रण गर्न तथा राज्य प्रणालीमा युवाको प्रभाव बढाउनका लागि गरिएको प्रदर्शन राजधानी मात्र नभई पोखरा, चितवन, बुटवल, नवलपुर, धनगढी, महेन्द्रनगर, सुनसरी, झापा, मोरङलगायत जिल्लामा पनि फैलिएको छ।
युवाहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमलाई असंवैधानिक भन्दै यसको विरोध गर्दै आएका छन्। काहुरास्ट नेपालले जारी गरेको विज्ञप्तिमा कतिपय स्थानमा आन्दोलन हिंसात्मक हुने सम्भावना बढेको सूचनाप्रति चिन्ता व्यक्त गरिएको छ। “शान्तिपूर्ण आन्दोलन नागरिकको अधिकार हो, त्यसलाई दमन गरेर समाधान खोज्न सकिँदैन,” विज्ञप्तिमा उल्लेख छ।
संस्थाले सरकारसँग आन्दोलनकारीहरुको जायज माग सम्बोधन गर्न, प्रहरी प्रशासनलाई थप संयमित बनाउन तथा आन्दोलनकारीलाई अराजकताबाट टाढा राख्न आग्रह गरेको छ। “प्रहरी प्रशासनले संयमता गुमाउँदा अवस्था थप जटिल बन्न सक्ने भएकाले कानून–व्यवस्था कायम गर्ने जिम्मेवार निकायले धैर्य र संवेदनशीलतापूर्वक प्रस्तुत हुन आवश्यक छ,” काहुरास्ट नेपालको भनाइ छ।
विज्ञप्तिमा आन्दोलनका क्रममा मृत्यु भएकाहरुप्रति गहिरो समवेदना प्रकट गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। संस्थाले आन्दोलनलाई लोकतान्त्रिक मूल्य र मान्यताअनुसार शान्तिपूर्ण रूपमा अघि बढाउन सबै पक्षलाई आग्रह गरेको छ।
राजधानीदेखि जिल्लासम्म फैलिएको यो आन्दोलनले मुलुकमा असन्तुष्टिको लहर फैलिएको संकेत गरेको छ। सरकार र आन्दोलनकारी दुवै पक्ष संयमित नभए थप ठूलो दुर्घटना र हिंसात्मक अवस्था सिर्जना हुने चेतावनी काहुरास्ट नेपालले दिएको छ।
मानवअधिकार संरक्षण र सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राख्ने संस्था भएकाले नागरिकको शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्न, लोकतान्त्रिक मूल्य जोगाउन र भ्रष्टाचार नियन्त्रणमा ठोस कदम चाल्न सबैलाई आह्वान गरिएको छ।
विज्ञप्ति महासचिव मीना शर्मा र अध्यक्ष हुकुमप्रसाद पोखरेलको संयुक्त हस्ताक्षरमा जारी गरिएको हो।

चर्चामा

सम्बन्धित समाचार