शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बाजुराको बाटोमा देखीने धर्मशाला लोप हुँदै

बाजुराको बाटोमा देखीने धर्मशाला लोप हुँदै

  • आइतवार, भदौ २२, २०८२
बाजुराको बाटोमा देखीने धर्मशाला लोप हुँदै

बाजुरा– बाजुराका विभिन्न गाउँमा केही वर्ष अघिसम्म बाटोभरी पाटीपौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी चैत वैशाखमा घँैटोमा खुदोपानी तथा पानी राख्दा धर्म हुने विश्वास थियो । तर अब ती सबै इतिहास भइसकेका छन् । कहीँकतै भग्नावशेष मात्रै देख्न पाइन्छन्। पछिल्लो समय त्यस्ता संरचना निर्माण हुनै छाडे। निर्माण भएकासमेत संरक्षण नगर्दा भत्किएर लोप भएका छन्। सडक विस्तारसँगै ऐतिहासिक महत्वका पाटी, पौवा तथा धर्मशाला लोप भएका हुन्।

बाटोमा केही बर्ष अगाडी जीर्ण अवस्थामा देखिएका धर्मशालाहरु हराउन थालेका छन् । यात्रा गर्ने बटुवाको सुविधाका लागि निर्माण गरिएका परम्परागत धर्मशाला लोप हुँदै गएका हुन । नुन र तेल ल्याउनका लागि हाट जाने हटेरु तथा देश प्रदेश गर्नेहरुको बास बस्ने व्यवस्थाका लागि समाजका दानी तथा परोपकारी व्यक्तिले धर्मशाला बनाउने र नाम कमाउने प्रचलन रहेको थियो ।

पछिल्लो पुस्ताले भने यस्ता कार्यमा भने खासै चासो नदेखाउँदा लोप हुँदै गएका छन्‌ । बडीमालिका नगरपालिका ७ को चुथी देखि पोरखेलेकसम्म पहिला धेरै धर्मशालाहरु देखिन्थ्ये तर अहिले केही जीर्ण भग्नावशेषमा छन भने केही धर्मशालाको निशाना समेत नामेट भएको देखिन्छ । पहिलेका पुस्तालाई दैनिक उपभोग्य सामग्री ल्याउन महिनौँ दिन लाग्ने गरेको र बाटोमा बटुवाका लागि नजिक बस्ती गाउँ नभएको ठाउँमा ति धर्मशाला लगाएको देखीन्थ्यो । हटेरु तथा बटुवालाई बास बस्न सहज हुने गरी गाउँका धार्मीक मान्छेले बनाएका ति धर्मशाला अहिले देखिन छोडेको स्थानिय राम बहादुर धामीले बताए । गोरेटो, घोरेटो बाटोको बिच बिचमा धर्मशाला निर्माण गर्ने गरेको उनको भनाई रहेको छ ।

मनमा शान्ति हुने र पछिल्लो पुस्ताका लागि पनि राम्रो सन्देश दिने गरी गाउँका अगुवाले जिल्लाका विभिन्न ठाउँको बिच बाटोमा धर्मशाला बनाउने गरेको थियो बडीमालिका नगरपालिका ७ का सुरेन्द्र धामीले भने । पहिलेका मानिस साइतमा जाँदा बाटोमै रात परेपछि त्यसै धर्मशालामा बास बस्ने गर्दथे । यसले गर्दा एकातर्फ पैसा बचत हुन्थ्यो भने अर्कोतर्फ सुरक्षित हुने गरेको धामीको भनाई रहेको छ ।

बाजुराका विभिन्न ठाउँमा देखिने धर्मशाला अहिले विस्तारै भत्किँदै गएका छन्‌ । बाजुराको पोरखेलेख, पौवा, नाटेश्वरी, बुढाबगर र टोटासाल लगायतका धर्मशाला समेत पछिल्लो समयमा लोप हुँदै गएका छन्‌ । अहिले ती अधिकांश धर्मशालाको नाम निसान छैन। ती धर्मशाला केही भत्किइसकेका छन् भने केही अहिले पनि भग्नावशेष अवस्थामा छन्‌ । बाजुराको पोरखेलेखमा रहेको धर्मशाला पनि अहिले भग्नावशेष अवस्थामा देखिएको छ । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेका हिमाली, जगनाथ, स्वामीकार्तिक खापर, बुढीनन्दा लगायत स्थानीयलाई टाढा सम्मको यात्रा गर्दा वा हाट जाँदा रात परेपछि त्यसैमा बास बस्ने गरेको त्यँहाका बृद्धबृद्धा बताउँछन्‌ ।
बावुबाजेले छिमेकी देश भारत तथा नेपाल सहर (काठमाडौँ) आउँदा जाँदा वा खाद्यान्न सामग्री लिन हाट जाने आउने हटेरु अर्थात् बटुवाका लागि बास बस्न सहज हुने गरी धर्मशाला बनाएको बताइन्छ । धर्मशाला बनाउँदा धर्म र समाजमा नाम कमाइन्छ भन्ने विश्वासका साथ बाजुरा, अछाम, टोडी, डडेलधुरा हुँदै कञ्चनपुरसम्म धर्मशाला तथा थकान मार्नका लागि बरपिपल चौतारी बनाउने परम्परा रहेको पाइन्छ ।

अहिले गाउँमा गाडी पुगेसँगै यस्ता धर्मशाला पनि भग्नावशेष अवस्थामा रहेको बुढीनन्दा नगरपालिका–९ का स्थानीय केशर बोहराले बताए । उनले भने, “ हाम्रा पुस्ताले भारतको टनकपुर, नेपालको राजापुर, दिपायल, डोटीबाट हाट ल्याउने समय बास बस्न सहजताका लागि बनाएका धर्मशाला पछिल्लो पुस्ताले चासो नदेखाएकाले विस्तारै लोप हुँदै गएका हुन्‌ ।” पहिला बाजुराको सबै सरकारी काम काज दिपायल, डोटी नै हुने गर्थ्यो। त्यतिबेला यहाँका स्थानीय सो कामका लागि दिपायल नै आउजाउ गर्थे । त्यहाँ जाने आउनेलाई बाटोमा बस्न सहज हुने गरी विभिन्न ठाउँमा धर्मशाला बनाउने गरेको बोहराले बताए  ।

पछिल्लो समय विकास निर्माणमा आएको परिवर्तनसँगै गाउँका बस्तीमा मोटर बाटो जोडिँदै गएपछि धर्मशाला पनि विस्तारै लोप हुँदै गएका छन्‌ । पहिलेका पुस्ता घरबाट आउँदा हाटबाट फर्किंदा जहाँ धर्मशाला छन् त्यतिसम्म अनिवार्य पुग्ने गरी हिँड्ने ब्यबस्था मिलाईन्थ्यो । उनीहरू टनकपुर, राजापुर दिपायल लगायतका विभिन्न ठाउँबाट हाट ल्याउन गएको बेला त्यही धर्मशालामा खाना पकाएर खाने त्यसैमा बास बस्ने गर्थे । धर्मशालामा जो पहिला पुग्यो त्यो राम्ररी बास बस्न पाउँथ्यो भने पछि पुग्नेहरू त्यो धर्मशालाको नजिकै वा बाहिरपट्टि बास बस्ने गर्थे ।

हाटमा जाने बेला रात परेपछि चोर डाँका तथा जङ्गली जनावरबाट बच्न सहज हुने गरी समाजका अगुवाहरुले बाटो बाटोमा धर्मशाला बनाउने गरेका हुन् तर अहिले सडक यातायातको सुविधासँगै गाडी मोटर चल्दा धर्मशाला देखिनै छोडेका छन्‌ । बडीमालिका नगरपालिका ९ का काल्चे दमाइले भने, “केही वर्षअघिसम्म गाउँमा मोटरबाटो थिएन, घरघरमा सबै मान्छे हुन्थे, धर्म कर्ममा बढी आस्था राख्ने चलन थियो। तर अहिले गाउँगाउँमा मोटर बाटो आयो, पहिला मेलापात होस् वा कतै जाँदा प्रयोग हुने बाटो प्रयोग हुन छाडे । नयाँ पुस्ताले त्यस्ता कुराको वास्ता नराख्दा यस्ता चौतारा र पाटीपौवा हराउन थाले ।”

चैत वैशाखको गर्मीमा प्यास लाग्दा चौतारामा धर्म हुन्छ बटुवाले खाओस् भनेर घैँटोमा पानी राख्ने चलन समेत अब नरहेको हिमाली गाउँपालिकाका स्थानिय छप्कीलाल बुढथापाले बताए । उनले भने पहिला हामी हाट जानेबेला बाटो बाटोमा पिपल चौतारा त्यसैमा माटोको घैटोमा पानी राखेको हुन्थे आफुले पनि धेरै पटक त्यो अनुभव लिएकोमा अहिले बजार बने बजारमा पानी किनेर खानुपर्ने अवस्था आएको उनको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार