
टेक बहादुर बुढा– बाजुरा जिल्ला कारागारको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएको छ । जिल्ला कारागारमा ७५ जना कैदीबन्दी बस्ने क्षमता भएको सुविधायुक्त नयाँ भवन निर्माण हुने भएको हो ।
२०३७ सालमा बनेको जिल्ला कारागार भवन जीर्ण बन्दै गएपछि अहिले नयाँ भवन बन्न लागेको जिल्ला कारागार कार्यालय बाजुराका प्रमुख जेलर अनिल कुमार तिवारीले बताएका छन । करिब ४५ बर्ष पहिले २५ जना कैदि बन्दीका लागि बनेको भवनमा कैदिबन्दीलाई निकै असहज भइरहेको बेला सरकारले भवन निर्माणका लागि आबस्यक प्रक्रृया अगाडी बढाएको जेलर तिवारीले बताए ।
बाजुरा कारागारका प्रमुख जेलर तिवारीले यँहाका कैदीबन्दीहरुलाई विभिन्न समस्या भइरहेको भन्दै आफू जिल्लामा आए लगत्तै भवन निर्माणका लागि पहल थालेको बताए । लामो समयको पहलपछि अब महिला र पुरुष दुवै गरी ७५ जना कैदीबन्दी बस्ने क्षमता भएको कारागारको नयाँ भवन निर्माण हुने बडीमालिका खबरलाई बताए । उनका अनुसार शहरी विकास मन्त्रालय अर्न्तगत शहरी विकास तथा भवन निर्माण विभागको ५ करोड बढी बजेटमा कारागारको सुविधा सम्पन्न भवन निर्माण हुन लागेको बताए ।
यस्तै, जिल्ला कारागारको नयाँ भवन निर्माणका लागि यहीँ भदौ १९ गते ५ करोड ९८ लाख ४८ हजार ४ सय ९८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । उक्त भवन निर्माणको जिम्मा डिबी बिएन एस जेभीले लिएको छ । २०८३ फागुन ३० गतेसम्म कारागारको भवन निर्माण कार्य सम्पन्न गरी सक्ने गरी जेभीले सघन शहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीसँग ठेक्का सम्झौता गरेको जनाएको छ ।
कैदीबन्दीलाई स्थानान्तरण गर्ने तयारी
कारागार प्रमुख जेलर तिवारीका अनुसार नयाँ भवन निर्माण हुने भएसँगै याहाँका कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन् । उनले अबको केही दिनभित्रै पहिलो चरणमा २० जना कैदीहरुलाई नेपालगञ्ज र बझाङ कारागारमा सार्न लागिएको बताए । सबै कैदीहरुलाई दसैं अगाडि नै स्थानान्तरण गर्ने गरी तयारी भइरहेको छ ।
त्यस्तै जेलर तिवारीले थुनुवाहरुलाई सार्नका लागि भने केही प्रक्रिया पूरा गर्नु पर्ने केही ढिलाई हुने बताए । थुनुवा सार्न अदालतबाट अनुमति लिनु पर्छ त्यसपछि सार्न सकिन्छ, यदि सम्भव भए दसैं अगाडि नभए दसैं लगत्तै स्थानान्तरण गरिने उनले बताए । हाल जिल्ला कारागारमा ४८ कैदी र १६ थुनुवा गरी ६४ जना कैदीबन्दी रहेका छन् ।
हाल जिल्ला कारागार पुरुषका लागि मात्रै २५ जनाको क्षमताको छ भने महिला कैदीबन्दीहरुलाई अन्य जिल्लामा लिनु पर्ने बाध्यता रहेको छ । त्यस्तै, २०३७ सालमा बनेको कारागारको भवन जीर्ण बन्दै गएको छ । २५ जनाको क्षमता भएको जिल्ला कारागारको जीर्ण भवनमा हाल दोब्बर बढी कैदीबन्दी छन् ।
कारागार व्यवस्थापन र सुरक्षामा सहजता
हाल जिल्ला कारागारको भवन जीर्ण भए पनि कतैबाट मर्मत तथा निर्माणका लागि पहल नहुँदा सुरक्षामा चुनौति थपिनुका साथै कैदीबन्दीहरुले कष्टकर जीवन बिताउनु पर्ने बाध्यता रहेको छ । त्यस्तै भवन जीर्ण भएपछि बर्षातमा चुहिने, खान बस्न, सुत्न र शौचालयको समेत निकै समस्या हुदैँ आएको छ । हाल कारागारको प्रशासनिक भवन भाडामा लगिएको छ, भने सुरक्षाका लागि खटिएका प्रहरी बस्ने भवन पनि अहिले जीर्ण बन्दै गएका छन् ।
बर्खाको समयमा कैदीबन्दीसँगै सुरक्षाकर्मी बस्ने र सुत्ने घरहरुको छतमा पालहरु हालेर बस्नुपर्ने बाध्यतामा रहेको छ । तर अब कारागारको सुविधा सम्पन्न भवन बन्ने भएपछि कैदीबन्दीहरुलाई निकै सहजता हुने कारागार प्रमुख जेलर अनिल कुमार तिवारीले बताए । उनले भने, “जीर्ण भवन त्यसैमा क्षमता भन्दा बढी कैदीबन्दी राख्नु पर्ने बाध्यता हुँदा सुरक्षामा चुनौतिसँगै कैदीबन्दीहरुले पनि विभिन्न समस्या भोग्नु पर्ने बाध्यता रहदैँ आएको छ ।” त्यसैगरी, अब सुविधा सम्पन्न नयाँ भवन बन्ने भएपछि कैदीबन्दीसँगै सुरक्षाकर्मी तथा कारागार प्रशासनलाई समेत सहजता हुने प्रमुख जेलर तिवारीले बताए ।
महिला र पुरुष दुवै गरी ७५ जनाको क्षमता भएको कारागारको सुविधा सम्पन्न भवन निर्माण भएपछि खानबस्न, स्वास्थ्य सरसफाई र सुरक्षामा समेत सहजता हुने जनाएको छ ।
