
सामाजिक सञ्जाल बन्द गर्ने क्रममा युट्युब बन्दा गर्दा आईपी एउटै परेमा जिमेलसमेत बन्द हुनसक्ने इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान) का अध्यक्ष सुधीर पराजुलीले बताएका छन् ।
नेपालमा सामाजिक सञ्जालहरू प्रतिबन्धसँगै इन्टरनेट प्रयोगमा देखिएको असरबारे अनलाइनखबरसँग कुरा गर्दै पराजुलीले भने, ‘युट्युब ब्लक गर्दा आईपी एउटै परे जिमेल पनि बन्द हुन्छ, अनि त्यसको असर हामीले चलाइरहेको फोनले पनि आंशिक रूपमा काम नगर्न सक्छ ।’
पराजुलीका अनुसार, यो संवेदनशील प्राविधिक पक्ष सरकारले बुझ्नै सकेको छैन । ‘सामाजिक सञ्जाल बन्द गर्ने निर्णय राजनीतिक र प्रशासनिक तहमा भएको छ। प्राविधिक ज्ञानबिना यस्ता आदेश दिइएको छ, जसको असरबारे सरकारले अनुमानै गरेको छैन,’ उनले भने ।
