
मौकामा चौका हान्न खोज्नेहरू खञ्जर लुकाउछन्,
ढाक्छन् खोला बगिरहेका सहरमा बगर लुकाउछन्।
दुश्मनलाई चिन्न सजिलो छ आफ्नालाई असजिलो,
पिठ्यूँमा बार गर्नेहरू जहिलेपनि अधर लुकाउछन्।
भन्छन् केही गर्छन् केही दुई जिउरे हुन्छन् धेरैजसो,
हाम्रो अनुहार देखेपछि उनिहरूले रहर लुकाउछन्।
अंध्यारो छ जताततै तर रहिरहने छैन सधै अन्ध्यारो,
दियो जलाए पछि अंध्यारो आफै सफर लुकाउछन्।
गुनासो के गरौं कोसँग गरौँ सबै छन् यहाँ उस्ताउस्तै,
भएपनि कसैलाई डरको आफैले असर लुकाउँछन्।
बटेकाछन् सबै जगेडा त केही थोरै मात्र बचेका हौँ,
आउँन नदिई असल समाचार त्यो खबर लुकाउछन्।
