
पूर्वी अफगानिस्तानमा आएको ६.० म्याग्निट्यूडको भूकम्पका कारण सयौँ मानिसको ज्यान गएको आशङ्का गरिएको छ। तालिबानको आन्तरिक मामिला मन्त्रालयले भूकम्पमा परेर मृत्यु हुने मानिसको सङ्ख्या ६१० पुगेको र घाइतेको सङ्ख्या कम्तीमा १,३०० जना रहेको पुष्टि गरेको छ।
स्थानीय समयानुसार आइतवार राति ११ः४७ बजे गएको भूकम्पको केन्द्रबिन्दु देशको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर पर रहेको बताइएको छ।
उक्त भूकम्प जमिनभन्दा आठ किलोमिटर तल उत्पन्न भएको बताइएको छ। मृतकको सङ्ख्या अझै बढ्न सक्ने ठानिएको छ।
प्रभावित क्षेत्रमा परकम्पहरू गइरहेका छन्। भूकम्पका कारण पहाडी क्षेत्रमा पहिरोले सडकहरू अवरुद्ध भएका छन् भने उद्धारकार्य पनि प्रभावित भएको छ। यसअघि तालिबान सरकारका कैयौँ स्रोतहरूले दर्जनौँ घरहरू “भग्नावशेषमा परिणत” भएको बताएका छन्।
