शनिबार, मंसिर २८, २०८२
  • होमपेज
  • समाचार
  • राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी दर्ता

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी दर्ता

  • मङ्लबार, भदौ १०, २०८२
राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी दर्ता

काठमाडौं— प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन्।

आज संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर उनले राज्य व्यवस्थाको सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन्। आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय भएपछि उनले राजीनामा दिएकी थिइन्।

यसअघि कांग्रेसकै सांसद रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादित बनेका थिए। त्यसपश्चात गठित समितिले खतिवडालाई नैतिक जिम्मेवार बनाएपश्चात प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सभापति पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

दलीय भागबण्डामा कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति लिएपछि खतिवडा सभापति बनेका थिए। कांग्रेस र एमालेको सहमति रहेकाले यो पदमा अन्य दलको दाबी छैन।

सोमबार संसद सचिवालयका सचिव हर्कराज राईले जारी गरेको कार्यतालिकामा सभापतिको मनोनयन दिउँसो १ बजेदेखि ४ बजेसम्म दर्ता गर्न सकिने उल्लेख छ। सभापति मनोनयनका लागि समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्नुपर्ने छ।

कार्यतालिकामा सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो ३ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा निर्वाचन गर्ने तालिका छ। संघीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गरिसक्नु पर्ने व्यवस्था गरिएकाले बुधबार निर्वाचन हुन लागेको हो।

चर्चामा

सम्बन्धित समाचार