
आजभोलि मोबाइलको स्क्रिनमा
सामाजिक सञ्जाल तलमाथि गर्दा,
अचानक ती अनुहारहरू आँखामा आउँछन्
हाँसो, ठट्टा र कहिलेकाहीं थोरै गुनासोसहितको असझदारी संगत
मेलापात, घाँस दाउरा
पढ्दा जुटिएका साथीहरू
को कता छन्
जानकारी पाउन मुस्किल
सुन्छु कोही विदेश पुगिसके,
कोही स्वदेशमै
असल कृषक, व्यापारी, नेता, डाक्टर,
त कोही पत्रकार, शिक्षक, कर्मचारी, सेना र प्रहरी
सम्झिन्छु,
त्यतिबेला एक चकलेट दुई जनाबीच बाँडिन्थ्यो,
कथा,ब्यथा र उत्तर सबैलाई सुनाइन्थ्यो,
र
एकजनाको आँसुले सबैको मन भिज्थ्यो।
पढ्ने र अरू काम गर्ने बेला थकाइ लाग्दा,
“अब ब्रेक गरौं” भन्ने आवाज कहिल्यै पराइ लाग्दैनथ्यो ।
ती ब्रेकहरू, ती रमाइला पलहरू
पढाइ र कामभन्दा बढी सम्झना बनेर बसेका छन् ।
अब ती दिनहरू फर्किंदैनन्,
तर ती साथीहरू, ती चुपचाप दिइएका साथहरू,
अझै मनको पानामा खुला पुस्तकझैँ थन्किएका छन् ।
आज सोचिन्छ
त्यो समयमा सबै कुरा सजिलो थियो
किनकि म एक्लो थिइनँ,
मसँग मेरा साथीहरू थिए
न त मलाई बाध्यता थियो
न कुनै डर र भय
किनकि म आकाशबेली थिए
बाँच्ने आधार आमा बुवा थिए
आज जमाना फेरिएर प्रविधिको छ
छुटेका ती साथीहरुलाई खोज्छु त्यसभित्र
कोही भेटिन्छन् त कोही कता छन् कता
आ आफ्नै बाध्यता छन् होला
मेरा जस्तै तिनका पनि
काँधमा जिम्मेवारी थपिएर
फुर्सद छैन होला ।
त्यसैले
प्रकृतिबाट सिक्ने
अनुभवबाट बुझ्ने
गरेको छु
साथीको सम्झना मैंले ।
