
काठमाडौं— प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा रिक्त सभापति पदको निर्वाचनको मिति तय गरिएको छ ।
संसद सचिवालयद्वारा जारी सूचनाअनुसार सभामुख देवराज घिमिरेले यही भदौ ११ गते बुधबारको दिनलाई निर्वाचनको मिति तोकेका हुन् ।
निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतबार दिनभर राजनीतिक दलसँग छलफल गरेका थिए ।
राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
निजामती सेवा विधेयकको कुलिङ पिरियडको गडबडीमा यसअघिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।
राज्य व्यवस्था समिति नेतृत्वबीहिन हुँदा समितिमा रहेका विधेयक भने अड्किएका छन् । समिति सचिवालयका अनुसार चार वटा विधेयक दफावार छलफलमा छ ।

