शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाली सेनाद्वारा साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना सम्पन्न

नेपाली सेनाद्वारा साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना सम्पन्न

  • सोमवार, भदौ ९, २०८२
नेपाली सेनाद्वारा साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना सम्पन्न

बाजुरा—नेपाली सेनाले आर्थिक वर्ष २०८१/८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरी बढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा लाभान्वित गराउने उद्देश्यले विभिन्न २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ।

सांस्कृतिक तथा पुरातात्विक महत्त्वका संरचनाको मर्मत सम्भार गरी इतिहास एवं संस्कृतिको संरक्षण र समुदायको आवश्यकतामा प्रत्यक्ष टेवा पुर्‍याउन दुई करोड छपन्न लाख रुपैयाँको लागतमा ती आयोजना सम्पन्न गरिएको नेपाली सेनाका सहायकरथी एवम् प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।

गत वर्ष उपत्यका पृतनाअन्तर्गत एक, पूर्वी, मध्यपूर्वी, मध्य, पश्चिम, मध्य पश्चिम, उत्तर पश्चिम र सुदूरपश्चिम पृतनाअन्तर्गत तीन-तीन वटा शीघ्र प्रभावी आयोजना कार्यान्वयनमा ल्याएको थियो।

इतिहाससँगै स्थानीय संस्कृतिको जगेर्ना तथा नेपाल एकीकरणको दौरान प्रयोग भएका रणनीतिक एवम् ऐतिहासिक महत्त्वका विभिन्न मठमन्दिर, कोटगढी र दरबारको मर्मत–सम्भार गरिएको छ।

सेनाले पुरातत्त्व विभागसँगको समन्वयबाट परम्परागत निर्माण सामग्रीको प्रयोग गरी बाजुरा स्थित ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्त्वको बडीमालिका मन्दिर पुनर्निर्माण सम्पन्न गरेको छ।

गत वर्ष सेनाले उदयपुरस्थित चौदण्डी गढी, ओखलढुंगाको तलुवागढी, चितवनको उपरदाङ्ग गढी, नुवाकोटको बेलकोट गढी, लमजुंगको पुरानकोट, सुर्खेतको बयलकाँडा गढी, डडेलधुराको अमरगढी र पाल्पाको माथागढी तथा गुल्मीको मुसिकोट दरबारको स्तरोन्नति तथा मर्मत–सम्भार गरेको प्रवक्ता बस्नेतले जानकारी दिए।

त्यसैगरी सामाजिक मूल्य र मान्यतालाई अक्षुण्ण राखी एकताभाव जागृत गर्ने सांस्कृतिक तथा पर्यटकीय महत्त्वका विभिन्न सम्पदाको जगेर्ना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

इलामको माई स्थान मन्दिर, रामेछापको तिल्केस्थान गढीमा रहेको देवी मन्दिर, नुवाकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिरको स्तरोन्नति गरिएको छ।

चितवनको देवघाटस्थित महेश आश्रममा गौशाला, मुस्ताङस्थित कागबेनीमा श्राद्ध स्थलमा ट्रसघर, पर्वतको कटुवाचौपारीमा पुजारी बस्ने कोठासहितको ट्रसघर निर्माण गरिएको छ।

महिला तथा विकट क्षेत्रका छात्र-छात्राको विद्यालय पहुँचमा सहजता पुर्‍याउने उद्देश्यले छात्रा शौचालय निर्माण गरिएको छ। सेनाले महोत्तरीको सोनम गाउँपालिकास्थित सरस्वती जनता माविमा छात्रालाई लक्षित गरी चार कोठे छात्रा शौचालय तथा दैलेखको दुल्लु नगरपालिका स्थित तीर्थस्थल पञ्चकोशी मावि वेद विद्या आश्रममा अध्ययनरत छात्रका लागि सेड घर निर्माण गरेको छ।

यस्तै ‘एक पालिका, एक हेलिप्याड’ को नीतिमा सहयोग पुर्‍याउने लक्ष्यका साथ मुगुको मुगुम कार्मारुङ गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ। यसले जटिल प्रसूति समस्यामा पर्न सक्ने सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार एवम् विपद् तथा विभिन्न दुर्घटनाका दौरान आकस्मिक उद्धार कार्यमा समेत सहज बनाउने विश्वास गरिएको छ।

डडेलधुरा र डोटीका स्थानीयलाई खानेपानीको सहज पहुँच पुर्‍याउन पिउने पानी ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा धाराको जडान गरिएको छ। पर्यटन तथा पर्यावरणलाई टेवा पुर्‍याउने उद्देश्यले काठमाडौंको नारायणहिटी संग्रहालय परिसरमा रहेको झिल पोखरीको मर्मत सम्भारका साथै बाराको कलैया बजारमा नेपालको झन्डा तथा मोनोग्राम निर्माणको कार्य सुरु गरिएको पनि सेनाले जानकारी दिएको छ।

गत आवमा सम्पन्न भएका शीघ्र प्रभावी आयोजना सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको पनि सेनाले जनाएको छ। शीघ्र प्रभावी आयोजनाको कार्यान्वयनबाट स्थानीय जनतामा आफ्नो टोल तथा सहरको विकास निर्माण सरसफाइलगायत सौन्दर्यीकरणमा अपनत्व जागृत गराउनुका साथै जनसमुदायमा राष्ट्रिय एकताको भावना समेत अभिवृद्धि हुने विश्वास लिएको छ। रासस

चर्चामा

सम्बन्धित समाचार