
काठमाडौं —त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । सोमबार जिल्ला होटेल व्यवसायी संघको आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, संघीय संसद्का सांसद नगेन्द्र कुमाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र महाप्रबन्धक हंसराज पाण्डेले संयुक्त रूपमा सहायता कक्षको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विदेशी तथा स्वदेशी यात्रुलाई सहज वातावरण दिने उद्देश्यले स्थापना गरिएको सहायता कक्षले पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपाल भित्रिने यात्रुलाई पहिलो छाप विमानस्थलमै पर्छ । यदि, उनीहरूले सहज र सकारात्मक अनुभव पाए भने, पुनः नेपाल आउने वातावरण बन्छ ।’
मन्त्री पाण्डेले विमानस्थलका कर्मचारीलाई अन्तर्राष्ट्रिय भाषामा दक्ष बनाउनुपर्ने आवश्यकता औंल्याउँदै होटेल, यातायातलगायत सेवासुविधासम्बन्धी जानकारी प्रभावकारी रूपमा दिन सक्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्राधिकरणका महाप्रबन्धक पाण्डेले निजी क्षेत्रको सहकार्यमा आगमन क्षेत्रमा पीपीपी मोडेलमार्फत बनेको सहायता कक्ष उदाहरणीय रहेको उल्लेख गरे ।
