
कुनै बेला रहर थियो
काठमाडौं जाने,
सपना बोकेर,
नयाँ संसार छुन, केही आफ्नै गर्ने।
किताबका पानामा पढेको थिएँ
बत्तीले झिलिमिली काठमाडौं,
जहाँ मान्छेहरू अघि बढ्छन्
अनि सपनाहरू बाँच्न थाल्छन्।
मनको कुनामा फूल्थ्यो आशा,
“एक दिन म पनि त्यहाँ पुग्ने छु”,
साना साना सपना थियो
ठूला शहरले अँगाल्ने छु।
तर… जब पाइला टेकेँ सहरको मुटुमा,
त्यो रहर एकाएक भारी बन्यो,
मान्छेको भिडमा हराइयो,
सपनाहरूलाई चिन्नै नसकिने भयो।
हर बिहान बिउँझिन्थ्यो गाडीको हर्नमा,
निद्रा हराउँथ्यो तनावको झर्नामा,
साझ पर्दा मनमा बज्थ्यो प्रश्न —
“के यही थियो त्यो रहरको मूल्य?”
भाडाको कोठा साक्षी छ,
कति आँखा ओभाएका रातहरूको,
कति चोट मुस्कानले लुकाएका,
कति रहरहरू मौन बनेर टाँसिएका।
अब जब आकाश हेर्छु काठमाडौंको,
तारा देखिँदैन, केवल धुलो र धुवाँ,
तर मनमा अझै कतै गुञ्जिरहेछ
त्यो नशालु रहरको पुरानो धुन —
“कुनै बेला रहर थियो काठमाडौं जाने…”
