
काठमाडौं– नेपालका केशव थापा र सोया चक्रधरले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । थाइल्यान्डको पटायामा आइतबार भएको प्रतिस्पर्धामा केशवले पुरुष ४० वर्षमाथिको एकल पुम्से र सोयाले ग्योरोगीको महिला ४६ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेका हुन् । च्याम्पियनसिपमा नेपालले पाँच स्वर्णसहित आठ पदक जितेको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटीले जानकारी दिए ।
च्याम्पियनसिपमा देवश्री निहारिका गन्जा, पूनम श्रेठ र फिरोज श्रेष्ठले पनि स्वर्ण पदक जितेका थिए । यस्तै राजन भण्डारी, रित्विक हमाल र दियोन महर्जनले रजत पदकमा चित्त बुझाए । पूनमले महिला ५० वर्षमुनिको एकल पुम्सेमा स्वर्ण जित्दा फिरोजले पुरुष ५० वर्षमुनि समुहकै एकल पुम्सेमा स्वर्ण पदक हात पारे । यस्तै महिला १७ वर्षमुनिको एकल पुम्सेमा नेहारीकाले स्वर्ण पदक जित्न सफल भइन् ।
यसैगरी पुरुष ३० वर्षमुनिको एकल पुम्सेमा राजन भण्डारीले रजत पदक जिते । केही समयअघि सम्पन्न कुकिवान कपमा स्वर्ण जितेका राजन पटायामा भने रजत पदकमा सीमित भए । अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेका उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै आएका छन् । यस्तै पुरुष १७ वर्षमुिन उमेर समूहमा दियोन महर्जन र पुरुष १४ वर्षमुनिको एकल पुम्सेमा रित्विक हमालले रजत पदक जितेका थिए ।
अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटीको नेतृत्वमा पटाया पुगेको नेपाली टोलीको प्रशिक्षकमा करण सिंह र सुसन दुलाल तथा अन्तर्राष्ट्रिय निर्णायकमा टार्जन सुब्बा छन् ।
