
बाजुरा– बागमती प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बाजुराको साफेँ मार्तडी सडकको दोष सरकारलाई थुपारेर उम्कीने दाउँमा रहेका छन । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति समेत रहेका मकवानपुर निवासी बानियाँले बाजुराको मार्तडी कोल्टी सडकमा सरकारकै कारण बजेट फ्रिज गएको पिएस बानीयाँ जेभी कम्पनीले बिज्ञप्तीमा उल्लेख गरेको छ । राजनीतिक शक्ति केन्द्रमा पुग्न लागेका ‘क’ वर्गका निर्माण व्यवसायी बानियाँको कम्पनी बानियाँ निर्माण सेवाले ठेक्का लिएको बाजुराको मार्तडी–कोल्टी सडक भने वर्षौंदेखि अलपत्र पारेको छ । सडक नबन्दा स्थानीयले चरम सास्ती भोगिरहेका छन् ।
संघिय सरकार प्रदेश सरकारको साझेदारी योजनाअन्तर्गत रहेको मार्तडी–कोल्टी सडकखण्ड निर्माणमा ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण बजेट नै फ्रिज भएको चौतर्फी समचार सम्प्रेशण पश्चात निर्माणको जिम्मा पाएको बानियाँ निर्माण सेवाले बिज्ञप्ती समेत प्रकाशन गरेको छ । बिज्ञप्तीमा उल्लेख गरे अनुसार आफ्नो जिम्मा २०८४ असार मसान्तसम्म रहेको जनाएको छ । पूर्वाधार विकास कार्यालय अछामका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी निर्माण कम्पनीसँग ५० करोड १७ लाखमा ठेक्का सम्झौता भएको थियो । २०७७ असारमा भएको सम्झौताअनुसार तीन वर्षभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि कम्पनीले काम सम्पन्न गर्न नसकेको पुर्वाधार कार्यालयको दावी छ ।
काम नसकेपछि कार्यालयले एक पटक म्याद थप गरे पनि चालु आर्थिक वर्षमा विनियोजित बजेट हुँदाहुँदै पनि ठेकेदारले काम नगरेको पूर्वाधार विकास कार्यालयको दावी छ । निर्माण कम्पनीले हालसम्म करिब डेढ करोडको मात्र काम गरेको छ, जसकारण विनियोजित बजेटमध्ये १३ करोड बढी रुपैयाँ फ्रिज भएको हो । कार्यालय स्रोतका अनुसार ९८ करोडको लागत अनुमान गरिएको उक्त २६ किलोमिटर सडकका लागि बाँनिया निर्माण सेवाले आधा रकममा ठेक्का पारेको थियो । तर सम्झौता भएको लामो समय बितिसक्दा पनि सडकको ५० प्रतिशत मात्र काम पनि हुन सकेको छैन । ठेकेदारले समयमै काम नगर्दा बर्खायाममा मार्तडी–कोल्टी सडक अवरुद्ध हुने र यसले स्थानीयलाई सास्ती हुने गरेको छ ।
कुल ४१ किलोमिटर लामो यो सडकखण्डको बाँकी १५ किलोमिटर (मार्तडीदेखि ढम्कनेसम्म) कालोपत्रेका लागि ५८ करोड रुपैयाँ विनियोजन भएको छ । यो खण्डको काम भने समपूरक अनुदान (५० प्रतिशत सङ्घ र ५० प्रतिशत प्रदेश सरकार) अन्तर्गत अघि बढेको छ । जसमध्ये मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटरमा अधिकांश काम सम्पन्न भइसकेको छ भने चुथीदेखि ढम्कनेसम्मको ६ किलोमिटर कालोपत्रेको काम पनी सोही कम्पनीले अलपत्र पारेको छ । यहाका स्थानियले ठेकेदारको चरम लापरबाहीका कारण मार्तडी–कोल्टी सडकखण्ड अलपत्र परेको आरोप लगाउदै आएका छन । सडक निर्माणको ठेक्का पाएका ठेकेदार इन्द्र बानियाँले समयमा काम नगर्दा र वर्षाले अवरुद्ध सडक नखोल्दा नागरिकले अकल्पनीय दुःख पाएको स्थानियको दुखेसो रहेको छ ।
‘मुख्यमन्त्री बन्ने मान्छेले अर्काको जिल्लामा, अर्काको प्रदेशमा मानवीय हिसाबले जनतालाई यति दुःख दिनु चिन्ताको विषय हो ।’ नागरिक समाजका अगुवाहरुको भनाई रहेको छ । सडक निर्माणका लागि छुट्याइएको बजेट समेत काम नभएर फ्रिज हुनु बाजुराका लागि दुखद हो नागरिक अगुको भनाई रहेको छ । ‘यो वर्ष मात्रै १४ करोडको बजेटमा १ करोड मात्रै खर्च भयो, बाँकी १३ करोड फ्रिज गयो,’ उनले भने, ‘ठेकेदारले समयमा काम नगरेका कारण यो अवस्था आएको हो ।’
वर्षायाममा पहिरोले सडक अवरुद्ध हुँदा खोल्ने जिम्मेवारी पनि सम्बन्धित ठेकेदारकै भए पनि उनले बेवास्ता गरेको स्थानियको आरोप छ । ‘सम्बन्धित डिभिजन कार्यालय (साँफेको भौतिक पूर्वाधार कार्यालय) लाई ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा नआउने गरेको बडीमालिका नगरपालिकाको भनाई रहेको छ ।
नगरपालिकाले आफ्नो तर्फबाट सानो जेसीभीमार्फत सामान्य अवरोध हटाउने प्रयास गरे पनि ठूलो पहिरो पन्छाउन नसकेको नगरपालिकाले जनाएको छ । ‘ठूलो पहिरो गएको हुनाले सम्बन्धित आयोजनाको ठेकेदारले नै काम गर्नुपर्ने हो, तर त्यो भएन,’ हुन नसकेको नगरपालिकाले जनाएको छ । सडक अवरुद्ध हुँदा जिल्लाका चारवटा पालिकाका नागरिक सदरमुकामसँगको पहुँचबाट टाढा भएका छन् । एम्बुलेन्स चल्न नसक्दा बिरामीले सास्ती खेप्नुपरेको छ भने राष्ट्रिय परिचयपत्र बनाउने जस्ता सामान्य कामका लागि सदरमुकाम आउनुपर्ने नागरिकले १० देखि १५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको छ । ‘यो सरासर शक्तिमा भएका मान्छेहरूले गरेको हेलचेर्क्याइँ र बाजुराप्रतिको हेर्ने नजर गलत भएको बाजुराबासीको आक्रोश रहेको छ ।

