शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दाकाे संरक्षणका लागि मन्त्री पाण्डेलाइ पुजारीले बुझाए ध्यानाकर्षण पत्र

बुढिनन्दाकाे संरक्षणका लागि मन्त्री पाण्डेलाइ पुजारीले बुझाए ध्यानाकर्षण पत्र

  • सोमवार, साउन २०, २०८२
बुढिनन्दाकाे संरक्षणका लागि  मन्त्री पाण्डेलाइ पुजारीले बुझाए ध्यानाकर्षण  पत्र

बाजुरा– बाजुराको उच्च हिमाली धार्मिक गन्तव्य बुढिनन्दा भगवती धामको संरक्षण, प्रवर्द्धन र मूल्यांकनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाइएको छ। ४५८१ मिटरको उचाइमा रहेको बुढिनन्दा भगवती मन्दिर र यस वरपरका ९ भन्दा बढी उच्च हिम तालहरू जैविक, धार्मिक र पर्यटकीय दृष्टिले विशिष्ट मानिन्छन्। “जहाँ देवता बस्छन्, त्यहाँ राष्ट्र बस्नुपर्छ” भन्ने मूल नारासहित पेश गरिएको ज्ञापनपत्रमा बुढिनन्दालाई ओझेलमा पारिएको  गुनासो स‌गै ध्यानाकर्षण पत्र बुझाएका हुन ।

ज्ञापनपत्रमा उल्लेख गरिए अनुसार, बुढिनन्दा मन्दिरमा हरेक वर्ष साउन शुक्ल एकादशीका दिन हजारौँ भक्तजन कठिन हिमाली यात्रापछि पैदलै दर्शनमा पुग्छन्। नाङ्गो खुट्टा, बिना छाता, बिना विश्राम यात्रामा सहभागी श्रद्धालुहरूको विश्वास अनुसार ‘साँचो मनले मागिएको वर’ पुरा हुने जनविश्वास रहिआएको छ। बुढिनन्दा भगवतीकी बहिनीको रुपमा चिनिने बडिमालिका मन्दिर अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनिएको भए पनि बुढिनन्दा धाम अझै पनि उपेक्षित भएकोमा ज्ञापनमा उल्लेख गरिएको छ।

ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका मुख्य मागहरूमा बुढिनन्दा धामलाई ‘विशेष धार्मिक–हिमाली–पर्यटकीय क्षेत्र’ को मान्यता दिनु। जैविक विविधता, भौगोलिक बनावट, संस्कृति तथा पर्यावरणीय पक्षको वैज्ञानिक अध्ययन गर्न पहल गर्नुपर्ने, पदयात्रा मार्ग, विश्रामस्थल, स्वास्थ्य सहायता केन्द्र, शौचालय आदि पूर्वाधार विकासमा बजेट विनियोजन गर्नुपर्ने लगायतका मागहरु राखिएका छन ।

“विश्वकै उच्च हिम तालहरू मध्ये एक” बुढिनन्दा नगरपालिका अन्तर्गत पर्ने यो धाम समुद्री सतहदेखि ४५८१ मिटरको उचाइमा अवस्थित छ, जुन आफैँमा एक अपूर्व हिमाली सम्पदा हो। धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक मौलिकताको संगम भएको यस क्षेत्रमा राज्यको सक्रिय उपस्थितिका लागि माग गरिएको छ। बुढिनन्दा भगवतीका  प्रमुख हुमारा रविन्द्र राज उपाध्यायले पठाएकाे   ज्ञापनपत्र  अनुसार, “बुढिनन्दा भगवती मात्र देवी होइनन्, यस ठाउँमा लुकेको सम्पूर्ण पहिचान, आस्था र जैविक रत्न राष्ट्रकै गौरव बन्न सक्ने उल्लेख गरेका छन ।

यस्ताे छ ध्यानाकर्षण पत्र 

पर्यटन तथा संस्कृति मन्त्रालयलाइ ज्ञापन पत्र
बाजुराको धार्मिक क्षेत्र बुढिनन्दा भगवती बिशेश

श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरबार, काठमाडौँ ।

विषय: बुढिनन्दा माताको पावन धाम र उच्च हिम तालहरूको संरक्षण, प्रचारप्रसार र मूल्यांकनको लागि ध्यानाकर्षण।
श्रीमान्, सुदूरपश्चिमको बाजुरा जिल्लामा अवस्थित बुढिनन्दा भगवती मन्दिर, समुद्री सतहदेखि ४५८१ मिटरको उचाइमा अवस्थित एक अत्यन्तै पवित्र, ऐतिहासिक र पर्यटकीय दृष्टिले विशिष्ट स्थान हो। बुढिनन्दा नगरपालिका भित्र पर्ने यो पावन भूमि ९ भन्दा बढी हिम तालहरू सहितको अनुपम गन्तव्य हो।

आजसम्म पनि यहाँ पुग्ने भक्तजनहरूको एक चित्त र एक मनले मागेको साँचो वरदान पूरा हुने जनविश्वास रहेको छ। हजारौँ भक्तजन प्रत्येक साउन शुक्ल एकादशीका दिन देखी यत्रा तय गरेर ४ दिन पछि माताको निबासमा पुगिन्छ । र सोहि दिन ( शुक्ल चतुर्दशि का दिन) माताको दर्शन पुजन हुन्छ । र फिर्ता भइन्छ । दुर्गम यात्रा , अग्ला डाडा , उकाली ओरालि पाटनका ठुला फाटहरु पार गर्दै नाङ्गो खुट्टा, बिना छाता, बिना विश्राम त्यहाँ पुग्दछन्। र पीडा के छ भने- संगै रहेको बडिमालिका धाम (माता बुढिनन्दा कि बहिनी) (जसको उचाइ करिब ४२९० मि. मात्र छ) अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भमा परिचित भइसकेको छ। तर बडिमालिका भन्दा अझ उचाइमा रहेको, प्रकृति, परम्परा र आस्थाले भरिपूर्ण बुढिनन्दा आज पनि किन ओझेलमा छ ?

के राष्ट्रले उचाइ हेर्दैन?
के आस्था हेर्दैन?
के हजारौँ भक्तजनको भावना निरीह रहन्छ?

मुख्य तथ्यहरू:

विषय विवरण
अवस्थित स्थान बुढिनन्दा नगरपालिका, बाजुरा
उचाइ ४५८१ मिटर (विश्वकै उच्च हिम तालहरू मध्ये एक)
मन्दिर बुढिनन्दा भगवती मन्दिर – शक्ति स्वरूपा देवी
तालहरू ९+ उच्च हिम तालहरू, जैविक र वातावरणीय दृष्टिले विशिष्ट
आस्था साँचो हृदयले मागिएको वरदान पूर्ण हुने जनविश्वास
तीर्थ यात्रा हजारौँ भक्तजन वर्षेनि पैदल यात्रा गर्ने
हाम्रा विनम्र अनुरोधहरू:

१. बुढिनन्दा भगवती धामलाई ‘विशेष धार्मिक–हिमाली–पर्यटकीय क्षेत्र’ को मान्यता दिइयोस्।
२. यस स्थलको उचाइ, भूगोल, जैविक विविधता र संस्कृति को वैज्ञानिक अध्ययन गरियोस्।
३. आवश्यक पदयात्रा पूर्वाधार, विश्रामस्थल, स्वास्थ्य सहायता केन्द्र, शौचालय जस्ता पूर्वाधार विकासमा बजेट विनियोजन गरियोस्।
४. नेपाल पर्यटन बोर्ड र Visit Nepal अभियान अन्तर्गत यसलाई प्रवर्द्धन गरियोस्।
५. UNESCO tentative list मा सूचीकृत गर्न पहल गरियोस्।

निष्कर्ष:
“जहाँ देवता बस्छन्, त्यहाँ राष्ट्र बस्नुपर्छ।”
बुढिनन्दा भगवतीको धाम धर्म, प्रकृति र संस्कृति तीनैको संगम हो।
४५८१ मिटर उचाइमा रहेको यो विश्वकै हिमाली आस्थाको एउटा अजम्बरी रत्न हो।
अब यस्को आवाज सुन्ने समय आएको छ।
राज्य, मन्त्रालय र सम्वद्ध निकायहरूको अविलम्ब ध्यानाकर्षण गराइन्छ।
श्रद्धासहित,

रविन्द्र राज उपाध्याय
बुढिनन्दा भगवतीका
प्रमुख हुमारा

चर्चामा

सम्बन्धित समाचार